हेटौंडा । माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले छोटो दूरीको बाटो हुँदै हेटौँडा आउन पाउने भएका छन् ।

पूर्वी मकवानपुरको बागमती र सिन्धुली जोड्ने पुल निरीक्षणक्रममा निर्माण कम्पनीले यातायात सञ्चालन भएको र हेटौंडा आउन सबैभन्दा छोटो दूरीको मार्ग जोडिएको जनाएको हो ।


ठेक्का लागेको १० वर्ष नाघ्दा पनि नबनेको पूर्वी मकवानपुरको बागमतीबाट सिन्धुली जोड्ने बागमती पुल माघदेखि सञ्चालनमा आउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पुल निर्माणबारे चासो लिँदै अनुगमन गरेका छन् ।

अनुगमनक्रममा पुल निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताए । उनले भने, ‘यातायात सञ्चालनमा समस्या छैन, पुलमा सामान्य कालोपत्रे र पुलसँगै केही ड्याक बनाउने काम चाँडै सकिने छ, ३ वर्षसम्म अर्कै कम्पनीले काम गर्छु भनेर ढाँट्दा आफू पनि समस्यामा परेँ, अब काम करिब करिब सकिएको छ ।’ पुल निर्माणको लागि फाउन्डेसन नै बदल्नु परेकाले पनि निर्माणमा ढिलाइ भएको लामिछानेले बताए ।

पुल निर्माणका लागि चैत मसान्तसम्म सीमा थपिएको र काम सकेर वैशाख १५ गते पुल शिलान्यास गर्नका लागि हस्तान्तरण गर्न आफू तयार रहेको लामिछानेले बताए ।

मदन भण्डारी राजमार्ग अन्तर्गत बागमती नदीमा पुल निर्माणको ठेक्का लागेको १० वर्ष ६ महिना पुगेको छ । निर्माण कम्पनीले तीनवर्ष भित्र काम सक्नेगरी २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।