हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन भएपछि दुध सङ्कलन ५३ प्रतिशतले बढेको छ । गाउँपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१-८२ मा वार्षिक ३१ लाख ९२ हजार लिटर दुध सङ्कलन भएकामा आर्थिक वर्ष २०८२-८३ मा बढेर ४९ लाख १२ हजार ६१६ लिटर पुगेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ मा सात वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत सङ्कलन भएको दुधमा प्रतिलिटर तीन रुपियाँका दरले किसानलाई एक करोड ४७ लाख ३७ हजार ८५० रुपियाँ प्रोत्साहन अनुदान उपलब्ध गराएको छ । अनुदानमध्ये गाउँपालिकाको आन्तरिक स्रोतबाट एक करोड २२ लाख ३७ हजार ८५० रुपियाँ र बागमती प्रदेश सरकारको ससर्त अनुदानबाट २५ लाख रुपियाँ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रमबाट एक हजार ९६९ जना किसान लाभान्वित भएका छन् ।

आर्थिक वर्ष २०८१-८२ मा दुध सङ्कलनका आधारमा किसानलाई ९५ लाख ७८ हजार ३३८ रुपियाँ अनुदान वितरण गरिएको थियो । त्यस वर्ष प्रतिलिटर तीन रुपियाँका दरले अनुदान वितरण गरिएकोमा पछिल्लो आर्थिक वर्षमा दुध सङ्कलन बढेसँगै अनुदान रकमसमेत बढेको हो ।

गाउँपालिकाको तथ्याङ्कअनुसार क्षितिज दुग्ध उत्पादक सहकारी संस्थामार्फत १० लाख ३९ हजार ६९१ लिटर दुध सङ्कलन भएको थियो । उक्त दुधबापत किसानलाई ३१ लाख १९ हजार ७३ रुपियाँ अनुदान दिइएको थियो । यसबाट ३५० जना किसान लाभान्वित भएका थिए ।

त्यस्तै, मनहरी–८ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत १७ लाख ५२ हजार १७५ लिटर दुध सङ्कलन हुँदा ५२ लाख ५६ हजार ५२५ रुपियाँ अनुदान वितरण गरिएको थियो । यसबाट ६१३ जना किसान लाभान्वित भएका थिए । मनहरी–३ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत १३ लाख ७९ हजार ५४१ लिटर दूध सङ्कलन हुँदा ४१ लाख ३८ हजार ६२३ रुपियाँ अनुदान दिइएको थियो । यसबाट ५५८ जना किसान लाभान्वित भएका थिए ।

नमुना कृषक समूह बहुमुखी सहकारीमार्फत तीन लाख ७० हजार ८३९ लिटर, चुरियामाई महिला जीवन वातावरण बहुउद्देश्यीय सहकारीमार्फत दुई लाख २२ हजार ६२५ लिटर र संयुक्त जनजागृति दुग्ध उत्पादक सहकारीमार्फत एक लाख १० हजार २२३ लिटर दूध सङ्कलन भएको थियो । त्यस्तै, बसन्त कृषि सहकारीमार्फत ३७ हजार ५३१ लिटर दूध सङ्कलन भएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । पालिकामा मासिक करिब ४ लाख ९ हजार ३८५ लिटर दूध उत्पादन एवम् सङ्कलन हुँदै आएको छ ।

गाउँपालिकाले किसानले उत्पादन गरेको दुधको बजार सुनिश्चित गर्न हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीस्थित हेटौँडा डेरी इन्डस्ट्रिज प्रालिसँग दुध खरिदबिक्रीको सम्झौता गरेको छ । सहकारीमार्फत दुध सङ्कलन गरी बिक्री गर्ने तथा किसानलाई भुक्तानी उपलब्ध गराउने जिम्मासमेत गाउँपालिकाले लिएको छ ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले दुधको बजार सुनिश्चित हुनु र उत्पादनका आधारमा प्रतिलिटर तीन रुपियाँ अनुदान पाउनुले किसानलाई उत्साहित बनाएको बताए । गाउँपालिकाले दुधको खरिदबिक्री र भुक्तानीको जिम्मा लिएपछि किसानले समयमै रकम पाउने वातावरण बनेको र त्यसले दुध उत्पादन बढाउन सहयोग गरेको उनको भनाइ छ ।