हेटाैडा । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै देशका सातवटै प्रदेशमा सरकार तलमाथि हुने निश्चित छ । बागमती प्रदेशमा पनि नयाँ सत्ता समीकरण बन्दा मन्त्रीमण्डल फेरबदल हुनेछ । २५ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गठबन्धन सरकार गठन भएको थियो ।
भागवण्डाअनुसार प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले गरेका थिए । सभामुख राप्रपा र उपसभामुख एमालेले पाउँदा माओवादीले मुख्यमन्त्रीसहित चार मन्त्रालय लिएको थियो ।
एमालेले ४ र राप्रपाले ३ मन्त्रालय पाएका थिए । जम्मकट्टेल सरकारलाई तत्कालीन गठबन्धनबाहिरका नेकपा (एकीकृत समाजवाद) र हाम्रो नेपाली पार्टीले पनि समर्थन गरेका थिए । तर, उनीहरूलाई सरकारमा सहभागी भने गराइएन । सरकार गठनको दुई महिना नपुग्दै नयाँ सत्ता समीकरण बनेपछि बागमतीमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ ।
एमालेले भने २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनसम्म सरकारलाई दिएको समर्थन कायम राख्ने एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया बताउँछन् । राष्ट्रपति निर्वाचनसम्म नयाँ सत्ता समीकरणमा चामत्कारिक फेरबदल नआए बागमतीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको सरकार गठन हुने लगभग पक्का छ ।
बागमतीमा राप्रपाका तीन मन्त्रीहरूले शनिबारै राजीनामा दिइसकेकाले मुख्यमन्त्री जम्मकट्टेलको सरकार अल्पमतमा परिसकेको छ । बागमती प्रदेशसभामा कुल सातवटा दलको प्रतिनिधित्व छ । प्रदेशसभामा एमालेका २७, माओवादीका २१ र राप्रपाका १३ सांसद छन् । यी ३ दलको मत जोड्दा ६१ हुन्छ । जुन सरकार गठनका लागि बहुमत थियो । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्छ ।
प्रदेशसभामा नेपाली कांग्रेससँग ३७, समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट छ । बागमतीमा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ । एकीकृत समाजवादीको मत थप हुन आउनेछ । नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक भएसँगै मुख्यमन्त्री जम्मकट्टेल सरकारमा सुरक्षित छन् । उनलाई कांग्रेस र एकीकृत समाजवादीले यसअघि नै विश्वासको मत दिइसकेकाले जम्मकट्टेल सुरक्षित छन् ।
उनले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनुपर्ने अवस्थामा पनि बहुमत पुग्ने अंक गणित छ । जम्मकट्टेललाई ३ माघमा प्रदेशसभा बैठकमा उपस्थितमध्ये १ सय ५ सांसदले विश्वासको मत दिएका थिए । वर्तमान सरकारमा नरहेका तर समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी तथा प्रतिपक्षमा रहेको कांग्रेसले पनि मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएको हो । नेपाल मजदुर किसान पार्टीका तीन सांसदले विपक्षमा मत हालेका थिए । एक जना सांसद भने अनुपस्थित भए ।
अब नयाँ सत्ता समीकरण राष्ट्रपति निर्वाचनपछिसम्म कायम रहे बागमतीमा मन्त्रीमण्डल पुनः गठन हुनेछ । नयाँ गठबन्धनमा भागवण्डा टुंगिइनसकेकाले बागमतीमा मुख्यमन्त्री जम्मकट्टेल नै रहन्छन् वा रहँदैनन् भन्ने यकिन छैन । गठबन्धनको भागबण्डाअनुसार जम्मकट्टेल नै मुख्यमन्त्री रहने अवस्थामा एमाले र राप्रपाले लिएको मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीको दाबी रहने देखिन्छ ।
माओवादी केन्द्रका सांसद प्रेमबहादुर पुलामी नयाँ गठबन्धनबाट पनि जम्मकट्टेल नेतृत्वकै सरकार बन्ने दाबी गर्छन् । राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले राजीनामा दिइसकेकाले रिक्त मन्त्रालयमा राष्ट्रपति निर्वाचनसम्म तत्काल मन्त्री नियुक्त नगर्ने मुख्यमन्त्री जम्कट्टेलको योजना छ ।
साभार शिलापत्र,नवीन तिमल्सिना












प्रतिक्रिया दिनुहोस्