हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले मानव जीवनका लागि वन अत्यन्तै आवश्यक रहेको बताएका छन । आर्थिक बर्ष २०८०–८१ को वन निर्देशनालय स्तरीय वार्षिक प्रगति समिक्षा गोष्ठीलाई सोमवार हेटौँडामा सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वन अतिनै संवेदनशिल भएकाले सबैले यस्को संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मानवलाई बाच्न अक्सिजन चाहिने र त्यो वनबाटै प्राप्त हुने भएकाले बोट बिरुवा र वनजङ्गल जोगाउने सबै नागरिकको कर्तव्य रहेको उनले बताए । ‘कार्वन उत्सर्जन गर्ने मुलुकले हामीलाई पैसा दिन्छन, त्यसको सही सदुपयोग गर्नुका साथैं हामी सबै वन जोगाउने अभियानमा लाग्नुपर्छ,’–मुख्यमन्त्री लामाले भने । उनले वनप्रति आम नागरिकलाई सकारात्मक बगाउनेगरी काम गर्न कर्मचारीलाई निर्देशन समेत दिए ।
पछिल्लो समय मानव र वन्यजन्तुबिच बढेको द्वन्द्व चिन्ताजनक भएको बताउँदै यो न्यूनीकरण गर्ने विषयमा गम्भीर हुनुपर्नेमा उनले जोड दिए । प्रसङ्ग जोड्दै उनले वन मन्त्रालय र मातहतमा छरिनेगरी भन्दा देखिने हिसाबले फोकस गरेर काम गर्न आग्रह गर्दै सबै मिलेर र सुधारिएर काम गरे देश बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले पछिल्लो समय सङ्घीयता माथि प्रश्न उठिरहेकाले आम जनताले अनुभूत गर्ने गरि काम गर्न निर्देशन दिए । उनले सम्भावना देखाउने मात्रै नभई कार्यान्वयन हुने काम गर्न आग्रह गरे । ‘अप्ठयारो परेका बिषयमा कानुन बनाउन तयार रहेको बताउँदै नीतिगत सुधारमा लाग्न हामी तयार छौं, कार्यान्वयन गर्ने कुरामा तपाईँहरू लाग्नुस्,’–मन्त्री काफ्लेले भने ।
प्रगति समिक्षा कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका डिभिजन वन अधिकृत कृष्णराज न्यौपानेले वन क्षेत्रबाट अर्ततन्त्रमा पुगेको योग्दान र वनको समग्र अवस्था बारे डिभिजन वन अधिकृत राम कुमार भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको सभाध्यक्षतामा भएको कार्यक्रममा वन मन्त्रालयका सचिव धिरेन्द्र प्रधान, वन निर्देशनालयका वन निर्देशक विद्यानाथ झा, वन निर्देशनालयका गोविन्द अर्याल लगायतकाले बोलेका थिए । वन निर्देशनालय बागमती प्रदेश मातहत १५ वटा डिभिजन वन कार्यालय र ७ वटा भू– तथा जलाधार व्यवस्थापन कार्यालय रहेको छ । बागमती प्रदेशमा ५३.७३ प्रतिशत वनक्षेत्र रहेको छ । गोरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्