
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले सरकारका आयोजनाहरुको विस्तृत परियोजना प्रस्तावनै कपी पेष्ट हुँदा आयोजना निर्माण र दिगोपनामा समस्या निम्तिएको बताए।
सोसाइटी अफ कन्सल्टिङ् आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्म्सकाे आयोजनामा (स्केफ) मोटरेबल पुलको डिजाइनसम्बधी एक हप्ते तालिमको यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री लामाले मोटरेबल पुलमा मात्र नभए र अब सडकमा पनि डिजाइन एण्ड बिल्टको अवधारणा ल्याउनुपर्नेमा जोड दिए ।
उनले डिजाइन एण्ड विल्टको अवधारणामा पक्की पुल निर्माण सुरु नगरेको भए नेपालमा अहिले जति पुल बनेका छन् त्यति सङ्ख्यामा पुल बन्दैन थिए भन्दै विगतदेखि नै नेपालमा पुलको डिजाइन बन्ने तर पुल नबन्ने गरेको समस्या रहेको सुनाए ।
उनले सरकारका आयोजनाहरुको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) र परामर्शदाताको काममा कपी पेष्ट रोक्नु आवश्यक भएको भन्दै अहिले पूर्वाधार निर्माण जग्गा प्राप्तिसम्बन्धी प्रक्रियाले समस्या भइरहेको बताए ।
कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सकिल मानन्धरले स्वीस सरकारसँग पछिल्लो चरणमा भएको सम्झौता अनुसार इन्जिनियरहरुलाई मोटरेबल पुलसम्बन्धी क्षमता र ज्ञान वृद्धि गर्न तालिम आयोजना गरिएको बताए ।
तालिम आयोजक संस्थाका स्केफका महासचिव इन्जिनियर कमल कार्कीले नेपालको पूर्वदेखि पश्चिमसम्मका एक हजार ३५० भन्दा बढी इन्जिनियरलाई संस्थाले तालिम प्रदान गरिसकेको बताए ।
कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेल, स्केफका कार्यसमिति सदस्य नवीन घिसिङ, सडक डिभिजन कार्यालय हेटौँडामा प्रमुख गुरुप्रसाद अधिकारी, प्रशिक्षार्थी कृष्णप्रसाद खनालले तालिमबाट गुणस्तरीय पुललगायतका संरचना बनाउने ज्ञान हासिल हुने बताए ।
सातदिने तालिममा सङ्घीय सरकार, बागमती प्रदेश सरकार र निजी कम्पनीका ४३ जना इन्जिनियरको सहभागिता छ । गाेरखापत्रबाट
प्रतिक्रिया दिनुहोस्