हेटाैँडा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मकवानपुरका दुईवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ।

जिल्ला कमिटी र क्षेत्रीय समितिको बैठकले युवानेता विजय गौतमदेखि चारपटक सांसद निर्वाचित भइसकेका विरोध खतिवडा र अधिवक्ता रामनारायण बिडारीसम्मको नाम सिफारिस गरेको हो।

नेकपा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ युवानेता विजय गौतमको नाम सिफारिस गरिएको छ। शनिबार सम्पन्न जिल्ला कमिटी बैठकले गौतमसँगै तत्कालीन एकीकृत समाजवादीका नेता तथा पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडाको नाम पनि सिफारिस गरेको छ। विगतमा मकवानपुर २ बाट चारपटक निर्वाचन जितेका खतिवडा आगामी निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट सिफारिसमा परेका हुन्। उनी ०७९ को निर्वाचनमा मकवानपुर २ बाट पराजित भएका थिए।

यस्तै, नेकपा मकवानपुरका इन्चार्जसमेत रहेका नेताहरू पहिलोपटक चुनावी प्रतिस्पर्धामा होमिने तयारीमा देखिएका छन्। क्षेत्रीय समितिको बैठकले मकवानपुर १ बाट १३ जनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ घनप्रसाद गौतम, प्रह्लाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ, किशोर टन्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना र वीरबहादुर थिङको नाम सिफारिस गरिएको छ।

यसैगरी, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय समिति प्रमुख ललित घलानको नाम पनि क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको छ।

क्षेत्र नम्बर २ मा भने बहालवाला आठजना जनप्रतिनिधिसहित प्रतिनिधिसभा उम्मेदवारका रूपमा नाम सिफारिस गरिएको छ। यस क्षेत्रमा विरोध खतिवडा, रामनारायण बिडारी, वीरबहादुर घलान, लवशेर विष्ट, सागर उप्रेती र किशोर बर्तौलाको नाम सिफारिस गरिएको छ। साथै, बहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान र राक्सिराङ गाउँपालिका उपाध्यक्ष वनस्थम थिङको पनि नाम सिफारिस सूचीमा परेको छ।

समानुपातिकतर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङ्तान, कृष्ण चेपाङ, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोषकुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरेको नाम सिफारिस गरिएको छ।

यस्तै, राष्ट्रिय सभा निर्वाचनका लागि तारानाथ खतिवडा, विष्णुमाया लामा र दिलबहादुर स्याङ्बाेको नाम सिफारिस गरिएको नेकपा मकवानपुरले जनाएको छ। नयाँ पत्रिकाबाट