काठमाडौं । टिकट वितरणमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको अधिकार कटौतीको प्रस्ताव आएपछि खैलाबैला भएको छ ।

शुक्रबार ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बागमती कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले पालिकाको टिकट वितरणमा जिल्ला सभापतिहरूले प्रदेश सभापतिसँग सल्लाह गरेर मात्रै दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रदेश सभापतिहरूले निर्वाचनलाई केन्द्रित गरेर धारणा राखेका थिए । सात प्रदेशका सभापतिहरूमध्ये एक जना सभापति अनुपस्थित थिए । ६ जना सभापति उपस्थिति रहेका थिए ।

बागमती कांग्रेसका सभापति बानियाँले मात्रै जिल्ला सभापतिहरूले स्थानीय तहको टिकट वितरण गर्दा प्रदेश सभापतिसँग परामर्श र सहमति लिएर वितरण गर्नुपर्ने प्रावधान राख्न माग गरेका थिए ।

सभापति बानियाँको सो प्रस्तावको केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विरोध जनाएका छन् ।

नेता बस्नेतले जिल्ला सभापतिहरूको अधिकार कटौती गर्न नपाइने धारणा बैठकमा राखेको स्रोतले जनाएको छ ।

‘पार्टीको विधानले नै वडाको टिकट क्षेत्रले दिने, गाउँपालिकाको टिकट जिल्लाले दिने भन्ने व्यवस्था गरेको छ । विधानको व्यवस्था काट्न पाइँदैन’, बस्नेतलाई उदृत गर्दै स्रोतले भन्यो, ‘जिल्ला सभापतिको अधिकार कटौती हुने गरेर आएका प्रस्तावलाई मान्न सकिँदैन ।’

बस्नेतले टिकटको अधिकार कटौतीका विषयमा ७७ वटा जिल्लाका सभापतिहरूको भेला राखेर सोध्नुपर्ने धारणा राखेका थिए ।

नेता बस्नेतको सो अभिव्यक्तिको बैठकमा बोल्न अधिकांश केन्द्रीय सदस्यहरूले समर्थन गरेको बुझिएको छ ।