हेटौंडा । हेटौडा–६ शान्तिटोलमा रहेको स्व.विपी गणेशमान स्मृति शान्ति पार्कको लागि यहाँका युवा व्यवसायीहरुले सिमेन्टको कुर्सी सहयोग गरेका छन ।

हेटौडा–१७ गैरीगाउँ निवासी नवराज न्यौपाने, हेटौडा–१७ चुच्चेखोला निवासी प्रविण गौतम र हेटौडा–६ चौघडा निवासी राजु गुरुङले पार्कलाई २/२ वटा सिमेन्टको कुर्सी प्रदान गरेका हुन । सहयोग गर्ने न्यौपाने नेपाली काँग्रेस हेटौडा–१७ का वडा सभापति, श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रमका सचिव र निर्माण व्यवसायी हुन भने गौतम कुखुरा व्यवसायीको साथै सामाजिक अभियन्ता हुन । गुरुङ स्वास्थ्यकर्मीका साथै सामाजिक अभियन्ता पनि हुन । गुरुङले यस अघि पनि पार्कमा आर्थिक सहयोग गरेका थिए ।

पार्कमा घुम्न आउने आगन्तुकहरुको सुविधाको लागि कुर्सी सहयोग गरेको उनीहरुले बताए । हेटौडा–६ शान्तिटोल स्थित रानी सामुदायिक वनको ब्लक नं. ५ र ६ मा व्यवस्थित पार्क निर्माण भैरहेको छ ।

पार्क निर्माण गर्न बागमती प्रदेश, हेटौडा उपमहानगरपालिका र डिभिजन वन कार्यालय, मकवानपुरले सहयोग गरेको पार्कका सचिव भरत सापकोटाले बताए । चालु आव. ०७८/०७९ मा बागमती प्रदेशले २५ लाख र हेटौडा उपमहानगरपालिकाले १० लाख सहयोग गरेका छन ।

भीमसेन पौडेल
थप जानकारी