हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपहानगरपालिका कमिटी चुनाव केन्द्रित अभियानमा होमिएको छ ।

कमिटीको आज मंगलबार बसेको चौथो पूर्ण बैठकले निर्वाचन केन्द्रित कार्ययोजना पारित गर्दै चुनाव केन्द्रित अभियानमा होमिएको हो । बैठकले हेटौंडा उपमहानगरपालिकाको हरेक वडामा यही चैत १९, २०,२१ र २२ गतेभित्र भेला, घरदैलो, सदस्यता वितरण, चुनावका लागि स्वयंसेवक समूह गठन गर्ने लगायतका कार्ययोजना पारित गरेको हो ।

पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुव भुजेलको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य गोमा तिमल्सिनाले कार्ययोजना सफलताका लागि शुभकामना व्यक्त गरिन् । उनले एकीकृत समाजवादी पार्टी कम्युनिष्ट जोगाउने आन्दोलन भएको भएको बताइन् ।

यस्तै, बैठकका विशीष्ट अतिथी एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पाख्रेलले एकीकृत समाजवादीमा लाग्नेहरु पद र पैसाका लागि नभई कम्युनिस्ट आन्दोलन जोगाउन लागिपरेको बताए । कम्युनिष्ट आन्दोलन जोगाउँनैका लागि पार्टी निर्वाचनमा होमिएको अध्यक्ष पाख्रेलको भनाई छ । आगामी चुनावमा कम्युनिस्ट पार्टी जोगाउनेआन्दोलनमा साथ दिनका लागि एकीकृत समाजवादीको चुनावचिन्ह ‘कलम’मा मत हाल्नका लागि उनले मतदातालाई आग्रह समेत गरे ।

बैठकले पार्टीको हेटौंडा उपमहानगरपालिका कमिटीको प्रचार प्रसार संयोजकमा भुपेन्द्र पराजुलीलाई जिम्मेवारी प्रदान गरेको छ । बैठकमा जिल्ला कमिटीका उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मीनाकुमारी लामाको विशीष्ट आतिथ्यता रहेको थियो । एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव देवराज गौतमले बैठक संचालन गरेका हुन् ।