हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल पनि श्रीलंका जस्तै बन्ने खतरा बढेको बताएका छन । हेटौंडाको हुप्राचौरमा आयोजना गरिएको आम सभालाई सम्बोधन गर्दै उनले संघीयता खारेज नगरे मुलुक जुनसुकै बेला श्रीलंकाको जस्तो आर्थिक संकटमा पर्ने बताएका हुन ।

संघीयताको नाममा जनप्रतिनिधि, तिनका कर्मचारी, सेवा, सुविधामा हुने खर्च र विकासमा देखिएको निराशाजनक अवस्थाले मुलुक आर्थिक रूपमा संकटमा रहेकोले श्रीलंका बन्ने जोखिम रहेको उनको ठम्याई छ ।

मुलुक यत्तिको जोखिममा हुँदा पनि जिम्मेवार भएर काम नगर्ने प्रमुख राजनीतिक दलबाट संघीयता बिरुद्ध जनता नै आन्दोलित हुने दाबी लिङदेनको छ । मुलुकको सुधारका लागि जनताले मतदानका बेला ध्यान दिनु पर्ने उल्लेख गरे ।

उनले देशमा राजनीति व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेको प्रति चिन्ता व्यक्त गरे । कांग्रेस, एमाले माओवादीले देश टाट पल्टाए, बैदेशिक ऋण अनुत्पादक क्षेत्रमा लगानी गरेको उनको आरोप छ । उनले देशले कांग्रेस, एमाले, माओवादीको विकल्प खोजेको दावी गरे ।

मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र आवश्यक रहेको उनको ठम्याइ थियो । ‘ठीक पार्टी र ठीक नेता चिन्न नसकेकोले जनताले दुख पाए । १५ बर्ष पार्टी चलाउँदा केही गर्न नसक्नेले फेरि केही गर्लान् भन्ने आश अब नगरौं ।’, उनले पार्टी प्रमुख वा प्रधानमन्त्री २ पटक नेतृत्व गर्दा पनि केही गर्न नसक्नेलाई फेरि मौका दिन नहुने दावी गरे ।

कार्यक्रममा राप्रपाका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अन्य बिभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका थिए ।