हेटौंडा । हेटौंडामा आगामी जेठ १३ र १४ गते हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशन सम्पन्न गर्न थप ७ वटा समितिहरु पहिचान गरिएको छ । प्रेस युनियन मकवानपुर र महाधिवेशन समन्वय समितिको आह्वानमा मंगलबार भएको भेलाले महाधिवेशनलाई व्यवस्थित ढंगले सम्पन्न गराउनको लागि विभिन्न क्षेत्रको जिम्मेवारी दिनेगरी समिति गठन गर्ने निर्णय गरेको हो ।

भेलाले प्रचार प्रसार समिति, मञ्च व्यवस्थापन समिति, स्वागत सत्कार तथा प्रभातफेरी समिति सांस्कृतिक समिति, स्वयम्सेवक तथा सुरक्षा समिति, आर्थिक समिति र स्वास्थ्य तथा पिउनेपानी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । यसअघि महाधिवेशन समन्वय समिति, आवास समिति, भोजन समिति र सचिवालय व्यवस्थापन समिति गठनन भइसकेको छ ।

थप गरिएका समितिहरुमा संयोजक र सदस्यहरु छिट्टै तोकिने र समितिहरुले गर्ने कामहरुको बारेमा समेत स्पष्ट खाका बनाइने महाधिवेशन समन्वय समितिका संयोजक एवम् युनियनका केन्द्रीय सदस्य राममणि दाहालले जानकारी दिए । भेलामा युनियनका केन्द्रीय सदस्य राममणि दाहाल, युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, पूर्व अध्यक्ष गोकर्ण सुवेदी, युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार, युनियन उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, सचिव केशव समर्पणलगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिगता रहेको थियो ।

महाधिवेशनमा युनियनका करिब १ हजार पाँच सय जना प्रतिनिधिल सहभागी हुनेछन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने जनाइएको छ ।