हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला कमिटी बैठक सोमबार बिहान बस्ने भएको छ । मकवानपुरको १० स्थानीय तहका २० पद, १ सय २ वडा वडाध्यक्ष, सदस्यहरु, जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, अन्य ११ सदस्य पदमा समाजवादीको माग, उम्मेदवार र गठबन्धनमा बनेको सहमतिबारे जिल्ला कमिटी बैठकमा छलफल हुने छ ।

बिहान ११ बजे क्वीक २० होटलमा आयोजित बैठकलाई जनसंख्या तथा स्वास्थ्य मन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य विरोध खतिवडा, स्थायी कमिटी सदस्य एवम् मकवानपुर इञ्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, राजाराम स्याङ्तान लगायतका नेताहरुले सम्बोधन गर्ने छन ।

यस्तै, बैठकमा १० स्थानीयमा समाजवादीले माग राखेका पदहरु, वडाध्यक्षका उम्मेदवारहरु र कार्यपालिका तथा जिल्ला समन्वय समितिमा माग गरिने पदहरुबारे पनि छलफल हुने बताइएको छ । १० स्थानीय तह इञ्चार्जहरुले रिपोर्टिङ गरेपछि गठबन्धनमा भएको छलफल र सहमतिको आधारहरु खोजिने छ ।

गठबन्धनको बैठकमा समाजवादीलाई कैलाश र ईन्द्रसरोवर गाउँपालिका दिन अन्य चार दल सहमत छन् । हेटौँडा उपमहानगरपालिकामा उपप्रमुख र मनहरी गाउँपालिकामा उपाध्यक्ष पनि समाजवादीबाटै छन् । अहिलेको गठबन्धनमा मकवानपुरका २० पदमध्ये समाजवादीले ३ वटा प्रमुख र ४ वटा उपप्रमुख मागेको छ । कैलाश र इन्द्रसरोवरमा प्रमुख पाएसँगै हेटौँडा र मनहरीमा पनि प्रमुखको दाबी छ । यस्तै, चार उपप्रमुखमा पनि समाजवादीको दाबी छ । राक्सिराङ, वकैया, गढी र भीमफेदीमा उपप्रमुखमा समाजवादीको दाबी छ ।

सोमबारको बैठकमा पार्टीले निर्वाचन परिचालनलाई व्यवस्थित बनाउने, उम्मेदवारहरुबारे टुंगो लगाउने र गठबन्धनलाई इमानदारितापूर्वक अगाडि लैजाने विषयमा छलफल हुने बताइएको छ ।