जुलाई २९, अन्तर्राष्ट्रिय बाघ दिवस । संसारभरि बाघको संरक्षण, प्रवर्धनको विषयमा नेपाल लगायत बाघ पाइने विश्वका १२ देशमा विविध कार्यक्रम सहित मनाउने गरिन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पछिल्लो गणना अनुसार नेपालमा ३५५ वयस्क पाटेबाघ रहेका छन् । संरक्षणकर्मी लगायत सबै नेपालीको निम्ति यो खुशीको कुरा हो । अधिकांश पाटेबाघ तराईका राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा छन् ।

हामीले पढेको र हामीलाई पढाइएको यही हो तर नियालेर हेर्दा निकुञ्ज क्षेत्र बाहिर पनि धेरै पाटेबाघ भेटिएका छन् । मूलतः राष्ट्रिय निकुञ्जसँग जोडिएका तराई तथा भित्री मधेशका जिल्लाहरूमा यो संख्या गज्जबसँग देख्न र अनुभूत गर्न सकिन्छ ।

यसको अलावा महाभारत क्षेत्रमा पनि पाटेबाघको उपस्थिति रहेको प्रमाण भेटिएको छ । बाघको संख्या बढ्नु, मानव बस्ती विस्तार हुनु, वासस्थानको विनाश र खण्डीकरणले सुरक्षित स्थल र आहारा प्रजातिको खोजीमा पाटेबाघ महाभारत क्षेत्रसम्म आएको सहजै अनुमान गर्न सकिन्छ ।

तराईमा पाइने बाघ अग्लो महाभारत क्षेत्रमा कसरी भेटियो ? त्यसको बडो रोमाञ्चक कथा छ । त्यो मेरो जीवनको कहिल्यै नबिर्सने घटना मध्ये पर्दछ जुन बखत म डिभिजन वन कार्यालय, डडेल्धुरामा डिभिजनल वन अधिकृतको रूपमा कार्यरत थिएँ ।

फोनको प्रतीक्षामा

२०७६ चैतको अन्तिम हप्ताको एक बिहान मेरो मोबाइलमा तराई तथा भू–परिधि कार्यक्रम (ताल) परियोजना, कोहलपुरमा कार्यरत भाइ करुण देवानको फोन आयो । मैले हेल्लो भन्न नपाउँदै उहाँले ‘सर हामी सबैलाई बधाई’ भन्नुभयो । मैले लख काटें । लामो समयदेखि म उहाँकै फोनको प्रतीक्षामा थिएँ ।

तैपनि विश्वस्त हुन मैले सोधें– के क्यामेरामा बाघको इमेज भेटियो ? हाम्रो मिसन सफल भयो ? उहाँले जवाफ फर्काउनुभयो– आयो सर आयो । क्यामरामा बाघको इमेज आयो ।

म खुशीले उत्तेजनावश या…हू…! भनेर ठूलो स्वरले चिच्याउन पुगेछु । चिच्याउँदा हातबाट झन्डै मोबाइल भुईंमा खसेको । सम्हालिंदै थप जानकारी लिएँ । घरका सबै जना उत्सुकतावश मलाई हेरिरहेका थिए । मैले फोनमा उहाँसँग कुरा सिध्याएपछि घरका सबैलाई विस्तारमा बताएँ ।

मेरो सास बढिरहेको थियो । अनौठो उमंगको लहर मुहारभरि दौडिरहेको अनुभव गरें ।

महाभारत क्षेत्रमा ताल परियोजनालाई क्यामेरा राख्न मैले निकै नै जोड र प्रशस्त लबिङ गरेको थिएँ । मेरो मनमा यहाँ बाघ पाइन्छ भन्ने पर्दै गएको थियो । त्यसको केही कारणहरू थिए । प्रमाणले त्यो बोल्नुपर्थ्यो । कस्सो बाघको तस्बिर क्यामरामा आयो । नआएको भए मैले के जवाफ दिने थिएँ ? जोड गर्ने म नै भएकोले शायद लज्जित हुनुपर्ने अवस्था पनि आउन सक्थ्यो ।

तर प्रमाण भेटिएपछि म ढुक्क हुनु त स्वाभाविक नै थियो तर संरक्षण क्षेत्रको लागि एउटा अत्यन्त महत्वपूर्ण उपलब्धि हुनाले पनि अझ उत्साहित थिएँ । यो नतिजालाई तत्काल सार्वजनिक गर्ने कि नगर्ने ? दोधारमा परें । तत्कालै वन सचिव डा. विश्वनाथ ओली, वन विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक गोपालप्रकाश भट्टराई, सुदूरपश्चिम प्रदेश सचिव डा. दीपक खराल सरलाई जानकारी गराएँ ।

उहाँहरू सबैले बधाई दिनुभयो तर सबैको उत्सुकताले भरिएको साझा प्रश्न थियो– महाभारत क्षेत्रको २,५०० मिटरको उचाइमा बाघ फेला परेकै हो त ? ओली सर थप आश्वस्त हुन चाहनुभयो, ‘त्यहाँको उचाइ २,५०० मिटर नै हो ?’

थप सुझाव दिनुभयो, ‘भूगोल बारेमा पुनः कन्फर्म नगरेसम्म नतिजालाई बाहिर सार्वजनिक नगर्नुस् । वन कार्यालयको लेटर प्याड प्रयोग गरेपछि त्यो आधिकारिक हुन्छ । कुनै कारणले उचाइ नमिले जवाफ दिन गाह्रो हुन्छ ।’

म उत्साहपूर्वक बाघको इमेज भेटिएको स्थानको उचाइ कन्फर्म गर्नतर्फ लागें । क्यामेरा ट्रयापिङमा खटेको फिल्ड प्राविधिक र जुन स्थानमा बाघको तस्बिर रेकर्ड गरिएको थियो, त्यो वन समूहको (मालिका सामुदायिक वन, भागेश्वर–५) अध्यक्षसँग तत्कालै फोन सम्पर्क गरें । उचाइ रि–कन्फर्म भएपछि ढुक्क भएँ ।

त्यो स्थान डडेल्धुराको महाभारत वन क्षेत्रको भागेश्वर मन्दिरको (२,५९५ मिटर) थोरै दक्षिणतर्फमा २,५०० मिटरको उँचाइमा अवस्थित थियो ।

तनावमाझ उत्साह

समाचार अत्यन्त सुखद् र उत्साहप्रद हुँदाहुँदै पनि कोरोनाले ल्याएको तनाव भोग्दै थियौं हामी । दिनदिनै यति जनालाई कोरोना संक्रमण भयो, यति जनाको मृत्यु भयो जस्ता भयप्रद समाचारहरू पत्रिका र टेलिभिजनमा छ्याप्छ्याप्ती आउँथे । मानिसहरू घरभित्र बन्दी भएका थिए । कोरोनाको त्राहिमाम् बढ्दो थियो । अत्यन्त नीरस अवस्था ।

नयाँ वर्षको सँघारमा थियो तर उल्लास रत्तिभर थिएन । उराठ लाग्दो अवस्था थियो । मानिसले अघिल्लोे नयाँ वर्षको उल्लास सम्झिंदै नजरबन्दबाट नै आफ्ना परिवार र प्रियजनलाई शुभकामना दिए । यस्तो कहालीलाग्दो समय छिट्टै हट्ने र आगामी नयाँ वर्ष फेरि उल्लासमय वातावरणमा मनाउने समेत विश्वास व्यक्त गरे ।

तर यही तनावको बीच बाघ रेकर्ड गरिएको समाचारले डिभिजन वन कार्यालय डडेल्धुराका टिम र तालका साथीहरूमा असीम उत्साह थपिदिएकोे थियो । यो खुशीको खबर हामी सबै प्रकृतिप्रेमीलाई छिटोभन्दा छिटो दिने हतारोमा थियौं । हामी उपयुक्त समय पर्खिरहेका थियौं । उपयुक्त दिन रोजियो नयाँ वर्ष २०७७ को वैशाख १ गते ।

हामीले नयाँ वर्षको शुभकामना सन्देशको अलावा डडेल्धुराको महाभारत क्षेत्रमा २,५०० मिटरको उँचाइमा पाटेबाघ भेटिएको समाचार पनि दिन उपयुक्त हुन्छ भनेर सल्लाह गर्‍यौं ।

म र सहायक वन अधिकृत सरिता लामा भई प्रेस विज्ञप्ति तयार गर्‍यौं । सो दिन सो खबर फेसबुकमार्फत जारी गरियो । यत्रो महत्वको खबर पत्रकार सम्मेलन मार्फत जानकारी गराउने चाहना थियो तर मध्य कोरोनाकालमा त्यो सम्भव थिएन, त्यसैले सामाजिक सञ्जाल नै रोजियो ।

सर्वसाधारणको निम्ति त यो खबर सामान्य नै थियो तर संरक्षणमा लागिरहेकाहरूको निम्ति यो असाधारण खबर थियो । समाचारले विस्फोटको रूप लियो । कारण, त्यो पाटेबाघ आधिकारिक रूपमा अहिलेसम्म नेपालमा सबैभन्दा उचाइमा भेटिएको थियो । २–३ घण्टाको अन्तरालमा मूलधारका पत्रिका, डडेल्धुरा र सुदूरपश्चिमबाट प्रकाशित हुने स्थानीय खबरपत्रिकाले असाध्यै प्राथमिकतासाथ त्यसलाई प्रकाशन, प्रसारण र साभार गरे ।

वन डढेलो जसरी त्यो खबर चौतर्फी फैलियो । दर्जनौं कल आयो । यत्रतत्र चर्चा–परिचर्चा र माहोल बेग्लै बनेको थियो । केही दिनसम्म चल्यो यो क्रम । बीबीसी नेपाली सेवाले समेत संरक्षणको क्षेत्रमा उक्त घटनालाई नयाँ आयाम भनी विश्लेषण गर्‍यो । २,५०० मिटरको उचाइमा पाटेबाघ देखिनुलाई संरक्षणमा नयाँ आयाम भनेर व्याख्या गरियो ।

सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने नेपाल सरकारको प्रतिबद्धतालाई यसले सहयोग पुर्‍यायो । साथै अबको प्राथमिकता वासस्थानको उचित व्यवस्थापन, चोरी शिकार नियन्त्रण र स्थानीय बासिन्दाको जीविकोपार्जनतिर जान जरुरी छ भन्नेमा एकमत बन्दै गयो ।

हाइकिङको साउती

डिभिजन वन कार्यालय, डडेल्धुराको टिमले महाभारत वन क्षेत्रमा नियमित पदयात्रा गर्दथ्यो; महाभारत वन क्षेत्रलाई कसरी बढीभन्दा बढी संरक्षणमुखी बनाउन सकिन्छ भन्ने अभियान खातिर ।

स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने, वन र वन्यजन्तुको वस्तुगत अवस्थाको जानकारी लिने क्रममा त्यो दिन हामी भागेश्वर मन्दिर क्षेत्रको भ्रमणमा थियौं । त्यस अगाडि हामीले घन्टेश्वर क्षेत्र, गन्यापताल लगायत अन्य स्थानमा सम्भाव्यता अध्ययन गरिसकेका थियौं ।

त्यो दिन नौ जनाको टिम हाइकिङको योजना बनाई बन्दोबस्तीका सामान ठूलो गाडीमा हालेर निस्केका थियौं । चिरकिटेमा बिहानी खाना खाई, एक जना स्थानीय उपभोक्तालाई अघि लगाउँदै गाडी छाडी पैदल हिंड्यौं । उनीसँग त्यस क्षेत्रको प्राकृतिक र सांस्कृतिक पक्षहरू बारेमा जानकारी लिँदै, विश्राम गर्दै, फोटो खिच्दै, छलफल गर्दै हिंड्यौं ।

मन्दिर आइनपुग्दै एउटा घाँटी (तल्लो भेग आलिताल र जोगबुढासँग जोडिएको सानो उकालो हुँदै आएको भाग र बीचमा सानो समथर भाग र त्यहाँबाट अर्कोतर्फ ओरालो सुरु हुने स्थान) आइपुगेपछि मैले रोकिई सहकर्मीहरूलाई यस्तै स्थानबाट जनावर वारिपारि सहज ढंगले आवतजावत गर्न सक्छन् र यहाँबाट जोगबुढा आलिताल लगायत तराईमा पाइने जंगली जनावर पनि सहज आवतजावत गर्न सक्ने कुरा बताएँ ।

शायद १० मिनेट जति छलफल गर्‍यौं । यस्तो स्थानबाट बाघ पनि आउन सक्ने र यहाँ क्यामरा राख्न सकिएमा सबै वन्यजन्तुको आवागमन र गतिविधि सहज ढंगले हेर्न सकिने चर्चा चल्यो । यसैबीच स्थानीय पथप्रदर्शक, जो भागेश्वर मन्दिरको एक पुजारी पनि थिए, उनले मेरो कुरामा सहमति जनाउँदै भने यो ठाउँमा बाघ आउँछ, मैले अलिक टाढाबाट देखेको छु, ऊ त्यतातर्फ भन्दै ओरालोतिर देखाए ।

मैले यो कुरालाई सामान्य तौरमा लिएँ कारण पहाडी क्षेत्रमा चितुवालाई बाघ भन्ने प्रचलन आम थियो । कुरा नौलो लागेन । उनले पटक–पटक बाघ–बाघ भनिरहँदा मेरो दिमागले चाहिं चितुवा भनेर नै पटक–पटक बुझिरह्यो । उनले फेरि पनि बाघ नै भनेपछि मैले बाघ होइन चितुवा भन्नुस् न भनें तर उनले होइन सर ठूलो खालको बाघ नै भएको भनेर बताए ।

त्यो बाघले गाउँको ठूलो भैंसी मारेको भनेपछि म अलिकबेर घोरिनँ बाध्य भएँ किनकि सामान्य चितुवाले ठूलो भैंसीलाई सहज रूपमा मार्न सक्दैन । हामीले पुनः सोध्यौं, भन्नुस् त कस्तो देखिन्थ्यो त्यो बाघ ? उनले ठूलो आकारको पहेंलो र कालो पाटा भएको बताएपछि झन् सोच्न बाध्य भयौं तर अझै विश्वस्त हुनसकेका थिएनौं ।

महाभारत क्षेत्रमा पाटे बाघ ? के त्यो सम्भव होला ? साँच्ची होला र ? विना अवरोध उन्मत्त हुर्किएको विशालकाय चितुवा पो थियो कि ? मेरो मथिङ्गल फन्फनी घुम्न थाल्यो । यात्राभरि पुजारीको भनाइले मलाई ह्यांग गराइरह्यो । मनले यसको छिनोफानो नगरी त्यसलाई त्यतिकै छोड्न हुन्न भन्यो ।

स्थानीय भएकोले यस क्षेत्रको बारे बाहिरकाले भन्दा उनको कुरा भरपर्दो हुन्थ्यो । स्थानीय ज्ञान त्यसै कहाँ भनिएको हो र ? मनमनै केही काम तत्काल सुरु गर्नुपर्छ भन्ने संकल्प बनाएँ ।

खोजी अभियान

त्यस भ्रमणपछि हाम्रो टिम के टुङ्गोमा पुग्यौं भने त्यो पाटेबाघ होला नहोला तर महाभारत क्षेत्रमा पाइने वन्यजन्तुको अध्ययन गर्न आवश्यक छ । डिभिजन वन कार्यालयले तराई भू–परिधि कार्यक्रम, कोहलपुर र विश्व वन्यजन्तु कोष नेपालसँग समन्वय गरी महाभारत क्षेत्रको घण्टेश्वर करिडोर र भागेश्वर करिडोरमा क्यामेरा राख्न आवश्यक रहेको बारे पत्राचार गर्‍यौं ।

क्यामेरा राख्नु अगाडि त्यहाँ बाघको उपस्थिति हुनसक्ने बारे मैले सचिव डा. दिपक खराल लगायत मन्त्रालय निर्देशनालयको टिम, विश्व वन्यजन्तु कोष नेपालका शिवराज भट्ट सर, ताल परियोजनाका भाइ सुमन सुवेदी, गौतम पौडेल र मुना थापालाई जानकारी गराएँ । मैले यो विषय तालको समन्वय बैठक धनगढीमा पनि उठाएँ । त्यहाँ पनि धेरै जनाको प्रश्न उस्तै थियो ।

महाभारत क्षेत्रमा पाटेबाघ ? बाघ त तराईमा पाइने प्राणी पो हो, त्यस्तो सम्भव होला र ? तापनि पटक–पटकको छलफल, एक किसिमको मेरो ढिपी र बाघ नभेटेको खण्डमा पनि जे जस्ता प्राणीहरू डडेल्धुराको महाभारत क्षेत्रमा छन्, त्यसको प्रोफाइल बन्छ भन्ने उद्देश्यले अन्ततः क्यामरा राख्ने निर्णय भयो ।

हाम्रो लागि त्यो ठूलो उपलब्धि थियो कारण क्यामरा राखिने भएपछि यथार्थ उजागर हुने नै थियो । मामला समयको मात्र थियो । जैविक विविधताले धनी मानिएको महाभारत क्षेत्रमा वनस्पतिबारे केही अध्ययन भए पनि वन्यजन्तुको अध्ययन भएकै थिएन ।

हिउँको साइत

अनेक चरणको तयारी पछि, तालका साथीहरूले डिभिजन वन कार्यालयका फिल्ड स्टाफलाई क्यामरा ट्रयाप सम्बन्धी दुई दिनको तालिम दिए । यो विधिमा विशेष खाले क्यामराहरू ग्रिड प्रणालीद्वारा जंगलमा राखिन्छ र बाघ वा जुनसुकै वन्यजन्तु आवतजावत गर्दा सेन्सरको माध्यमबाट ती प्राणीहरूको फोटो स्वचालित खिचिन्छ । इमेज वा तस्बिर क्यामरा ट्रयाप हुन्छ ।

तालिम पश्चात् २०७६ फागुन २३ गतेदेखि चैतको २४ गतेसम्म एक महिनाको लागि २ बाई २ किलोमिटरको ग्रिड बनाएर विभिन्न स्थानमा ३२ जोडी क्यामेरा डडेल्धुराको महाभारत क्षेत्रमा राखियो । डडेल्धुराको महाभारत क्षेत्रको लागि अहिलेसम्मको ठूलो र व्यवस्थित अध्ययन थियो यो, बाघ लगायत धेरै कुराको इमेज प्राप्त हुने अपेक्षा सहितको ।

डडेल्धुरा चिसो ठाउँ । संयोग कस्तो रह्यो भने फागुनको अन्तिममा क्यामरा राख्ने दिनमा भीषण हिउँ पर्‍यो, मानौं हिउँले शुभमुहूर्तको जनाउ दिँदैछ । हिउँ वा पानी पर्दा हामी वन मान्छे खुशी हुन्छौं कारण त्यसले वन डढेलो रोक्छ साथै बिरुवाले चिस्यान पाउँदछ तर यस पटक म निरास थिएँ ।

धेरै प्रयासको बावजुद क्यामेरा राखिंदै थियो । पानी मात्र परेको भए केही थिएन । भारी हिमपातले ल्याउने जाडोले बाघलाई (यदि बाघ रहेछ भने) तल्लो भेगतिर भगाउँथ्यो । भाग्यो भने क्यामेरामा पर्ने सम्भावना नै थिएन । क्यामरा पनि एक महिनाको लागि मात्रै राखिंदै थियो । मेरो चिन्ता बढ्दै गयो ।

ग्रिडका बिन्दु तोकिएको थियो, गणना रोकिने सम्भावना पनि थिएन, रोक्नु पनि हुँदैनथ्यो किनकि लगाई तयारी सबै पूरा भइसकेको थियो, अझ मैले त बोल्ने कुरै थिएन तसर्थ प्रोटोकल अनुसार क्यामरा राख्यौं । साथीहरू हिउँ कुल्चँदै तोकिएको बिन्दुमा क्यामरा राखेर फर्कनुभयो । मेरो मन निचोरियो तर एउटा कुनामा महिना दिनमा कसो बाघको तस्बिर नपर्ला भन्ने सोचाइ आयो ।

हप्ता, हप्तामा प्राविधिकले क्यामेराको मेमोरी कार्ड चेन्ज गर्दै हेर्दै हामीलाई जानकारी गराइरहेका थिए । इमेजमा चितुवा, रातो फ्याउरो, ठूलो निर बिरालो, चरी बाघ, दुम्सी, मृग, सालक, दर्जनौं चरा प्रजातिको उपस्थिति थियो करिब २,००० मिटरमा हुँडार पाइएको थियो । माथिल्लो भेगमा पाइने घोरल र तल्लो भेगमा पाइने जरायो जस्ता जनावर समेत रेकर्ड भएका थिए ।

महाभारत क्षेत्रलाई वन संरक्षण क्षेत्र बनाउनुपर्छ भन्ने तर्कलाई वन्यजन्तु विविधताले आधार दिएको थियो । बाघको नामोनिसान थिएन, बाघ नदेखिंदा हामी केही खिन्न बन्न पुगेका थियौं तर किन किन एक महिना भित्र बाघको इमेज जसरी पनि पर्छ भनेर मभित्र गज्जबको आत्मविश्वास पलाएको थियो । थाहा छैन कहाँबाट यत्रो आत्मविश्वास पलाएको थियो ।

लकडाउनको सकारात्मक पाटो

लकडाउनले जनजीवन अस्तव्यस्त थियो । यसका सकारात्मक नकारात्मक पक्षबारे बहसहरू पनि सुनिन्थे । हामी चुपचाप थियौं । कारण विकल्प थिएन । फोस्रो तर्कको काम थिएन बरु लकडाउनले वन्यजन्तुहरू निर्वाध रूपले स्वतन्त्र विचरण गरेका खबरले खुशी तुल्याएको थियो । त्यस्ता खाले समाचार आइरहेका थिए, तस्बिरहरू छापिएका थिए । प्रदूषण र होहल्ला घटेको थियो ।

लकडाउनले गर्दा आर्थिक गतिविधि ठप्प थियो । जंगलमा मान्छेको आवतजावत बन्द थियो । हामीले समूह मार्फत कोही जंगल पसेमा फोटामा सबै देखिन्छ भनेकोले स्थानीय बासिन्दाहरू हच्किएका थिए । जनावरलाई कुनै प्रकारको बाधा–अवरोध थिएन । त्यसैले जनावरहरू निर्धक्क विचरण गरेका होलान् भन्ने अनुमान गर्न कठिन थिएन ।

कोरोनाले कार्यालय बन्द हुने भएपछि सहायक वन अधिकृत सरिता लामालाई निमित्तको जिम्मेवारी सुम्पेर म काठमाडौं आएँ । काठमाडौंबाट फोनमा फलोअप गरिरहें । यही क्रममा करुण भाइको फोन आयो, ‘२,५०० मिटरको उँचाइमा अवस्थित भागेश्वर करिडोरमा बाघको इमेज ट्रयाप भयो ।’

पहिलो चरणमा प्राप्त भएको सफलतालाई मध्यनजर गर्दै दोस्रो चरणमा भागेश्वर–महाकाली करिडोरमा ३० जोडी क्यामेरा ट्रयापिङको काम पनि सम्पन्न गर्‍यौं । यसमा भने क्यामेरामा पाटेबाघको इमेज ट्रयाप भएन तर बाघको पदचिह्न (पगमार्क) रेकर्ड भयो । त्यो पदचिह्न प्रकृतिले दिएको सान्त्वना उपहार जस्तो मानें ।

कहाँबाट आयो यो बाघ ?

रैथाने बाघ कि आगन्तुक ? कहाँबाट आया यो बाघ ? धेरै जनाले हामीलाई सोधेको प्रश्न । हामीसँग प्रष्ट जवाफ थिएन तर बाघ विज्ञसँग छलफल गरेपछि केही कुरा थाहा भयो । उक्त बाघको इमेज सन् २०१७ मा डडेल्धुरा जोगबुढामा र सन् २०१८ को शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणनामा फेला परेको बाघको इमेजसँग मेल खाएन ।

यसको अर्थ, बाघ कुनै कारणले यहींकै जङ्गलमा कतैबाट आई बसेकोले रैथाने भएको हो वा छिमेकी भारतको नन्दुर वन्यजन्तु आरक्षबाट महाकाली नदी तरेर आएको हुन सक्छ वा आहारको खोजी गर्दै अथवा दुई भाले बाघको युद्धमा पराजित भएर नयाँ वासस्थानको खोजीमा आएको पनि हुन सक्थ्यो वा बच्चा हुर्काउन र भालेबाट बच्चा जोगाउन सुरक्षित स्थानको खोजीमा यता आयो र यतै अनुकूलित भएर बस्यो ।

बाघ आफ्नो क्षेत्र छुट्याएर बस्ने प्राणी भएकोले वयस्क भएपछि नयाँ क्षेत्रको खोजीमा निस्कने गर्दछ । बाघको संख्या बढेकोले बढी क्षेत्रफलको आवश्यकता पर्ने तर्क बलियो नै थियो । यस्तै कारणले यतै रहन गई रैथाने बन्न गएको हुन सक्थ्यो । कारण जे होस्, बाघको इमेज ट्रयाप भएको थियो । हामीसँग प्रमाण थियो ।

यो समाचार फेसबुकमा हालेपछि काफली टावर (भातकाडा उत्तर) टेलिकम टावरमा कार्यरत प्राविधिक भाइ महेश भट्टले दुई, तीन वर्ष अघि एउटा बच्चासहितको पाटेबाघ काफलीको टेलिकम टावर नजिक आफैंले देखेको बताउँदै त्यसको लोकेसन समेत पठाउनुभयो तर अकस्मात् भेटेको र देख्नासाथ बाघ र म दुईतिर भागाभाग हुनाले फोटो लिन सक्ने सम्भावना नै भएन भन्ने जानकारी गराउनुभएको थियो ।

मैले त्यो लोकेसन प्राप्त हुनासाथ चेक गरें । यी दुई प्वाइन्टको दूरी करिब १२ किमी थियो । उचाइ लगभग उस्तै । बाघको व्यवहार हेर्दा यो सम्भव थियो । महाभारतको जंगल घना भएकोले बाघलाई चाहिने प्राकृतिक आहारा, पानी, विचरण क्षेत्र र वासस्थान प्रशस्त थियो । यसले पनि डडेल्धुरामा बाघको उपस्थिति लामो समयदेखि नै हुनसक्थ्यो भन्ने कुरालाई आधार समेत दिएको थियो ।

नेपालका पहाडी भेगमा पनि पाटेबाघ थिए र समयक्रममा नासिए भनिए तापनि यो बाघ सप्रमाण फेला परेको थियो । डडेल्धुराको जोगबुढा क्षेत्रमा सन् २०१७ मा बाघको तस्बिर प्राप्त भएको थियो तर त्यसलाई सामान्य ढङ्गले लिइयो किनकि त्यो कञ्चनपुरको ब्रह्मदेव करिडोर वा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आहारको खोजीमा उक्लिएको हुनसक्ने आकलन गरियो ।

त्यसको विपरीत यो चाहिं महाभारत क्षेत्रको निकै उचाइमा फेला परेकोले यसको चर्चा धेरै भयो । छिमेकी भारतको उत्तराखण्डमा २,९०० मिटर र भुटानमा ४,२०० मिटरभन्दा माथि पाटेबाघ देखिएको रेकर्ड छ । डडेल्धुरामा पाटेबाघ भेटिएको करिब २ वर्षपछि इलाममा ३,१०० मिटरमा रेकर्ड भएको थियो ।

बाघ एक, सवाल अनेक

डडेल्धुराको महाभारतमा रेकर्ड भएको पाटेबाघको तस्बिरले अनेकौं सवाल पैदा गर्‍यो । बाघ तराई र राष्ट्रिय निकुञ्ज भन्दा बाहिर पनि पाइन्छ भनेर सन्देश दियो । अन्य क्षेत्रमा पनि बाघको वासस्थान व्यवस्थापन, चोरी शिकार नियन्त्रण गस्ती र समुदायमा बाघ संरक्षण सम्बन्धी जनचेतनाको आवश्यकता रहेको औंल्याइयो । पाटेबाघको उपस्थिति देखिएपछि यसको सुरक्षा चुनौती टड्कारो देखिएको थियो ।

सबै सरोकारवालाहरू बीच गहन छलफल हुन अपरिहार्य भयो । महाभारत वन क्षेत्रको संरक्षण विद्यमान मोडलबाट बिल्कुल सम्भव छैन भन्ने कुरा झन् प्रष्ट भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आव २०८०/८१ को आफ्नो कार्यक्रममा डडेल्धुराको महाभारत वनलाई प्रदेश संरक्षित वन बनाउने भनेर बजेटको समेत व्यवस्था गरेको छ ।

अनुत्तरित सवाल

मनमा एउटा प्रश्न उठिरहन्छ । त्यस दिन भागेश्वर मन्दिर जाने सोच नआएको भए वा स्थानीय पुजारीलाई पथप्रदर्शकको रूपमा साथ नलगेको भए के बाघ भेटिन्थ्यो त ? वन्यजन्तु मार्गबारेमा छलफल नगरी सरासर अगाडि बढेको भए वा पुजारीले बाघको प्रसंग नझिकेको भए के बाघ भएको रेकर्ड भेटिन्थ्यो ?

मैले बारम्बार जोड गर्दा पनि ताल परियोजना वा विश्व वन्यजन्तु कोष नेपालले क्यामेरा राख्न उदासीनता देखएको भए वा २–३ महिना मात्र पछाडि क्यामरा राखेको भए कस्तो नतिजा निस्कने थियो ? म चुपचाप बसेको भए के हुन्थ्यो होला ? सोच्दा अचम्मको भुमरीमा पर्छु ।

भागेश्वर बाबाको कृपा

फिल्ड गएपछि नयाँ कुरा देखिन्छ, नयाँ विचार पलाउँछ भन्ने सोचेर म फिल्डतिरै बढी कुद्छु । अफिस भन्दा फिल्डमा प्राथमिकता दिन्छु ।

प्राकृतिक स्रोतमा आश्रित स्थानीय समुदाय र आदिवासीहरूसँग छलफल गर्न रुचाउने मान्छे भएकोले पनि यो सम्भव भयो कि ? कारण जे भए पनि पदयात्राकै नशाले महत्वको उपलब्धि हात लागेको थियो ।

यसै नतिजालाई तदारुकताका साथ कार्यान्वयनमा पनि ल्यायौं । डडेल्धुराबाट बिदा भएको करिब ३ वर्ष बित्यो तर अहिले पनि पाटेबाघको खोजीमा महाभारत वन क्षेत्र घुमेको सम्झना आइरहन्छ ।

स्मृतिले मन अनायास पुलकित हुन्छ । सोच्छु, यतिखेर के गरिरहेको होला त्यो पाटेबाघ ? स्वयम् जवाफ दिन्छु– प्रकृतिको सुन्दर प्राणी जहाँ भए पनि मस्त र बिन्दास नै होला, प्रकृतिको काखमै रमाएर बसेको होला । उनै भागेश्वर बाबाको कृपाले सुरक्षित होला । अनलाइन खबरबाट साभार

(लेखक आचार्य हाल डिभिजन वन कार्यालय, धादिङमा कार्यरत छन् ।)

बिष्णु प्रसाद आचार्य
थप जानकारी