हिजो घर भन्दा पार्टीको माया लाग्थ्यो, ज्यान भन्दा पार्टीको विचार प्यारो लाग्थ्यो, जनवादी गीत गाउँदै गर्दा माया पिरतीका गीतहरु घृणा लाग्थ्यो, मादल गितार हार्माेनियम बाकेर कोसौ हिड्दा पनि भोक लाग्दैन थ्यो । बारी खन्न छोडेर आमसभा तथा जुलुसमा गएर फर्कदा बेलुका भात खान नपाउँदा पनि निद्रा राम्रै लाग्थ्यो । जनवादी गीतसंगै गाउँमा रातभरी देउसीभैलो खेल्दा उज्यालो नभैदिए हुन्थ्यो भन्ने लाग्थ्यो । देशमा कम्युनिष्ट (एमाले) शासन आएपनि देश झलमल हुन्छ । सबैले रोजगारी पाउँछन् । कोहिपनि भोकै मर्नु पर्दैन । के गाउँ के शहर सबै स्वर्ग झै हुन्छ । यस्तै यस्तै कुरामा ज्यान दिन र लिन पछि नपर्ने गरी पार्टीको लागि योगदान गरियो । धन्न सानो तिनो व्यवसाय पनि गर्दै आएको हुनाले बाँचियो । नत्र त सडकमा होइन नालीमै पो जाकिने रहेछ नि ।
विशेषगरी युवा पंक्तिलाई मेरो सुझावः इच्छा अनुसार पार्टीमा लाग्नुस्, सकेको सहयोग गर्नुस्, देशलाई केन्द्रमा राखेर जनताको सेवा र समृद्धिको राजनीतिमा लाग्नृुस् तर जवानीको जोशलाई आफ्नो नियन्त्रणमा राख्नुस्, भावनामा नबग्नुस्, उक्साहटमा नउक्सिनुस्, सपनामा मात्र होइन यथार्थ धरालतमा उभिएर हिड्नुस्, आफ्नो जीवनको अमुल्य समयको ख्याल गर्नुस्, आफ्नो र आफ्नो परिवारको भविश्य दाउमा राखेर पार्टी भनेर कहिल्यै नहिड्नुस्, कर्ममा विश्वास गर्नुस्, मिठा भाषणमा नअल्मलिनुस् । किन कि यहाँ आफैले बनाएको नियम पालना हुँदैन, नेताको बोलीको ठेगान हुँदैन, लोभीपापीहरुको बाहुल्यता बढेको छ । पार्टीका नेताहरुले आफ्नै कार्यकर्ताहरुलाई प्रयोग गर्ने र फ्याक्ने नीति लिएको छ । अभै भन्नुपर्दा पार्टी भनेर जीवनमा मैले जस्तो गल्ती कसैले कहिल्यै पनि नगर्नुस् ।
प्रतिक्रिया दिनुहोस्