हेटाैडा । सालक किसानको साथी भएकाले यसको संरक्षणमा सम्पूर्ण मकवानपुरे लाग्नुपर्ने हेटौंडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । कुनैपनि किसिमले कसैलाई पनी हानीनोक्सानी नगर्ने सालक संरक्षणमा सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्नेमा उनीहरुले जोड दिएका हुन ।
सालकको संरक्षणमा काम गर्दै आएको हिमालयन नेचरको आयोजनामा हेटौंडामा भएको एक दिने सालक संरक्षण सम्वन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवाला निकायले सालकको पहिचान मकवानपुरसंग जोड्नुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा हिमालयन नेचरका परियोजना अधिकृत प्रदीप सेढाई र डिभिजन वन कार्यालय, राप्ती मनहरीका सहायक वन अधिकृत गगन शर्माले मकवानपुरमा सालकको अवस्था, बासस्थान, यसको आहार,सालकको संरक्षणमा भएका प्रयास र उपलब्धि,सामुदायिक वनले गरेका क्रियाकलाप, कानूनी ब्यवस्था, भविष्यमा गर्नु पर्ने काम लगायतका विषयहरुमा सहजीकरण गरेका थिए । कार्यक्रमका सालक संरक्षणमा उत्कृष्ट काम गर्ने समूहलाई पुरस्कृत गर्नु पर्ने, सुरक्षा निकाय, स्थानीय तह, वन कार्यालयले सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।
सालकको संरक्षणमा हिमालयन नेचर र जेडएसएलले गरेको कामको प्रशंसा गर्दै सहभागिहरुले सबै क्षेत्रबाट सहयोग भएमा सालकको संरक्षण हुनुको साथै यसको संख्यामा वृद्धि गर्न सकिने विश्वास ब्यक्त गरे । कार्यक्रममा रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चेतना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बंशी गोपाल कँडेल, लोकहित मध्यवर्ती सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर मुक्तान, चुच्चेखोला सामुदायिक वनका उपाध्यक्ष उमेश अधिकारी लगायतकाले सालकको संरक्षणमा सामुदायिक वनले गरिरहेका कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सालक पक्रने, शिकार गर्ने, खपटाको ब्यापार गर्ने ओसारपसार गर्नेलाई १ लाख देखि ५ लाख सम्म जरविाना वा १ वर्ष देखि १० वर्ष सम्म कैदी वा दुवै सजाय हुने कानूनी ब्यवस्था छ । पछिल्लो समय सालकलाई गौरबको जिल्ला घोषणा गर्ने अभियान चलिरहेको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्