हेटौंडा । नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले ४१ औं स्थापना दिवस बिबिध कार्यक्रमको आयोजना गरि मनाएको छ ।
स्थापना दिवसको अवसरमा हेटौंडा १२ स्थित प्रथम सहिद लखन थापामगर स्मृति वाटिकामा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष सन्देश तुम्सिङ्ग मगरको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मेयर लामाले मकवानपुरमा मगरहरुको एकता राम्रो रहेको र अझ मगरहरुमा एकता बलियो हुनपर्नेमा जोड दिइन । उनले मगर समुदायको भाषा, भेषभूषा, संस्कृति संरक्षण र सम्वर्द्धनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन ।
कार्यक्रममा राष्ट्रिय कलाकार एवं स्थानीय कलाकारहरुले मगर संस्कृति झल्किने गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संघका केन्द्रीय अनुशासन बिभाग प्रमुख अशोक शारु मगर, संघका केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य तथा मकवानपुर ईन्चार्ज रामकुमार वोगटी मगर, संघका पुर्ब अध्यक्षहरु, भातृ संस्थाको अध्यक्षहरु, संघको हेउनपा समितिको अध्यक्ष भरत ठाडा मगर, गुठिका अध्यक्षहरु लगायतको आतिथ्य रहेको थियो ।
मगर समुदायले २०१२ सालमा स्थापना भएको तत्कालीन अवस्थामा मगर समाज सुधार समितिको नामबाट देशभरका मगर जातिलाई एक ठाउँमा उभ्याउने प्रयास भएयता विभिन्न चरणमा संस्थाको नाम परिमार्जन हुँदै हाल नेपाल मगर संघ हुन आएको ऐतिहासिक दिन भएकोले २०३९ सालदेखि हरेक वर्ष फागुन १५ गते स्थापना दिवस मनाउन थालिएको हो ।












प्रतिक्रिया दिनुहोस्