नेपाली काँग्रेस बैठक

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेशस्तरीय सम्मेलन आगामी पुसमा काठमाडौँमा हुने भएको छ । कांग्रेस  बागमती प्रदेश कार्य सम्पादन समितिको बैठकले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन तयारीका लागि प्रदेश सभापति इन्द्रबहादुुर बानियाँको संयोजकत्व तथा प्रदेश समितिका सबै पदाधिकारी सदस्य रहेको सम्मेलन आयोजक मूल आयोजक समिति गठन गरिएको विभिन्न समितिहरू गठन गरिएको जानकारी दिए ।

त्यस्तै राजनीतिक प्रस्ताव तयारी उपसमिति संयोजकमा उपसभापति चन्द्र महर्जन, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा उपसभापति मोहन बस्नेत, साङ्गठनिक प्रस्ताव तयारी उपसमिति संयोजकमा महामन्त्री कन्चनचन्द्र वादे तथा सहयोजकमा सहमहामन्त्री ऋषिराम घिमिरे र आगामी वर्षको कार्यक्रमको कार्यतालिका (क्यालेण्डर) तयारी उपसमिति संयोजकमा महामन्त्री राजु श्रेष्ठ तथा सहसंयोजकमा सहमहामन्त्री जीवन डङ्गोललाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौँमा बिहीबार बसेको कार्यसम्पादन बैठकले आर्थिक प्रतिवेदन तयारी उपसमितिमा कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, सम्मान उपसमितिमा सहमहामन्त्री ऋषिराम घिमिरे, खाना व्यवस्थापन उपसमितिमा सहमहामन्त्री हरिशरण श्रेष्ठ, स्वागत उपसमितिमा सहमहामन्त्री जीवन डङ्गोल र प्रचारप्रसार उपसमिति संयोजकमा प्रवक्ता तिलक रुवाली रहने गरी तोकेको छ ।

कांग्रेस बागमती प्रदेशका प्रवक्ता रुवालीले काठमाडौँमा हुने पहिलो सम्मेलन कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता हुने बताए।