हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै हाम्रा परम्परा, कला र संस्कृतिले हामीलाई विश्वमञ्चमा विशिष्ठ पहिचान दिएको बताएका छन् ।

शुभकामना सन्देशमा प्रमुख शर्माले यसमा पनि हाम्रा रोचक तथा मोहक चाडपर्वहरुले हामीलाई थप समृद्ध बनाएको बताउनुभएको छ । आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होेसार पनि एक महत्वपूर्ण पर्व भएको प्रमुख शर्माको भनाई छ ।

प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गर्दै विविध विशेषताका कारण विश्वमानचित्रमा हाम्रो छुट्टै पहिचान बनेको बताए । ‘हाम्रो यो पहिचान निर्माणका लागि हाम्रा चाडपर्वहरुको उल्लेखनीय भूमिका रहेको छ ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ,‘विभिन्न ल्होसार मध्ये ग्याल्पो ल्होसार पर्व हामी नेपालीहरुको राष्ट्रिय संस्कृतिको अभिन्न अंग बन्न पुगेको छ ।’

प्रमुख शर्माले यो पर्वले आपसी सद्भाव एवम् सहिष्णुता कायम गर्दै र राष्ट्रिय एकता हासिल गर्नका लागि सघाउ पु¥याउँदै आएको बताए । साथै, हाम्रो देशको संस्कृति संरक्षणका लागि यस्ता चाडपर्व कोसेढुङ्गा सावित हुनेछन् भन्ने आफूलाई पूर्ण विश्वास रहेको पनि प्रमुख शर्माले शुभकामना सन्देशमा उल्लेख गरे ।