हेटौंडा । आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छोरा २६ वर्षीय मिलन गमाललाई ज्यान सम्बन्धी कसूरमा मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान थालिएको छ । गमाललाई आफ्नै आमालाई घाँटी थिची हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको थियो । घरायसी विवादको कारण स्थानीय ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गत फागुन ३० गते बिहान घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको पाइएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट गएको प्रहरी टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएकोमा सोही दिन नै शव आफन्तले बुझी लगेका थिए । मृतकको शब परीक्षणको लागि फोरेन्सिक मेडिसिन बिभाग त्रिभुवन शिक्षण अस्पताल महाराजगँञ्ज काठमाण्डौ पठाईएकोमा पोष्टमार्टम रिपोर्टमा कोही कसैले घाँटी थिची मारेको हुन सक्ने भन्ने प्रारम्भिक जानकारी प्राप्त भएपछि घटनामा संलग्न ब्यक्तिको पहिचान गर्न प्रहरी लागि परेको थियो । घटनाको थप अनुसन्धानको क्रममा खोज तथा स्थानीयसमेतको अनुसन्धानबाट मृतकको छोरा मिलन गमालले नै घरायसी विवादको कारण मारेको खुल्न आएको प्रहरीले जनाएको छ ।

काठमाण्डौं बस्दै आएका मिलन फागुन २९ गते काठमाण्डौंबाट भारतमा रोजगारीको लागि जान्छु भनि हिडि मदिरा सेवन गरी बेलुकी घरमा आई आमाको घाँटी थिचेर हत्या गरी भोलिपल्ट बिहान आमाको मोबाईल समेत लिई झ्यालबाट बाहिर निस्की चित्लाङको बाटो हुँदै काठमाण्डौ गई लुकेको प्रहरीकोे भनाइ छ । लुकेर बसेको अवस्थामा चैत १८ गते मिलनलाइ पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । गोरखापत्रबाट

मकवानपुरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ