हेटौँडा  । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानसम्बन्धी विस्तृत स्वेतपत्र जारी गरेका छन्।

यस स्वेतपत्रमार्फत हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानकै भएको दाबी गरिएको छ। तर, हेटौँडा अस्पतालको स्वामित्व हस्तान्तरण विरुद्ध राजनीतिक दलहरूले आशंका गर्दै विरोध जनाउँदै आएका छन्। मुख्यमन्त्री पौडेलले स्वेतपत्रमार्फत प्रतिष्ठानबारे देखिएका अन्योल र भ्रमको समाधान गर्दै प्रतिष्ठानको अवस्था, प्रगति र भविष्य योजनाबारे जानकारी दिएका छन्।

स्वेत पत्रमा मुख्यमन्त्री पौडेलले प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालको सम्पूर्ण स्वामित्व हस्तान्तरण भइसकेको र प्रतिष्ठानले नै अस्पताल सञ्चालन गरिरहेको बताएका छन्। उनले प्रतिष्ठानलाई वैधानिक रूपमा स्थापना गरिएकाले त्यसको संरक्षण र विकासमा सबैलाई लाग्न आग्रह गरेका छन्।

प्रतिष्ठानको कामकारबाहीमा कानूनविपरित अवरोध सिर्जना भएकाले प्रतिष्ठानलाई स्वायत्त रूपमा कामगर्न दिनुपर्ने उनको माग छ। स्वेत पत्रमा प्रतिष्ठानका उपलब्धि, सेवा विस्तार र भविष्य योजनाबारे समेत उल्लेख छ।

प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालमा ५०० शय्या विस्तारका लागि कामहुँदै गरेको र बेसिक हेल्थ साइन्स (युरोपियन युनियन) को पठनपाठनका लागि ५५ करोडको लगानीमा अत्याधुनिक भवन बनाउने काम भइरहेको जनाइएको छ। एमबिबिएस पठनपाठन शुरु गर्ने तयारी पनि भइरहेको उल्लेख छ।

स्थापनाकालका मुख्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग मकवानपुरमा छुट्टै प्रदेश अस्पताल स्थापना गर्न समेत अनुरोध गरेका छन्।