हेटौँडा । चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुरले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा बिहीबार हेटौँडामा चलचित्र पत्रकार एवम् गीतकार गीता अधिकारीलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ प्रदान गरेको छ । अधिकारीलाई ११ हजार १११ रुपियाँ नगदसहित पुरस्कृत गरिएको हो ।

अधिकारी दुई दशकभन्दा बढी चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने मिलाप राष्ट्रिय मासिक पत्रिकामा आबद्ध रहेकी छिन् । नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारलाई नेपाल चलचित्र सङ्घका अध्यक्ष एवम् निर्माता नरेन्द्र महर्जनले स्थापना गरेका हुन ।

दिवसको अवसरमा सङ्घले चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट कान्तिपुर टेलिभिजन मकवानपुरका संवाददाता बालकृष्ण अधिकारी, चलचित्र कलाकर्मी सम्मान २०८१ बाट कलाकार कोसिस क्षेत्रीलाई सम्मान गरिएको छ । त्यस्तै कलाकार सुशान्तकुमार श्रेष्ठको बुबाको नामबाट स्थापित धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८१बाट कलाकार ध्रुव न्यौपानेलाई सम्मान गरिएको छ ।

सोही अवसरमा चलचित्र पत्रकार सङ्घ नेपालको हेटौँडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
सम्मान तथा पुरस्कार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी, नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, जिल्ला अध्यक्ष कपिल खड्का लगायतकाले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । गोरखापत्रबाट