हेटौँडा । बागमती प्रदेशमा विपद्का घटनामा एक वर्षको अवधिमा ६१ जनाले ज्यान गुमाएका छन । २०८० जेठ २२ गतेदेखि २०८१ जेठ २२ गते सम्म बागमती प्रदेशमा भएको ८३६ विपद्का घटनामा ६१ जनाले ज्यान गुमाएका हुन ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार १७७ जना घाइते हुनुभएको छ भने ३ जना बेपत्ता भए । एक बर्षको अवधिमा भएको विपद्को घटनामा करिव ५१ करोडको क्षति भएको छ । १७८ पूर्वाधारको क्षति भएको छ भने ६३१ पशुचौपाया मरेको मन्त्रालयको तथ्याङ्क छ ।

एक बर्षको अवधिमा प्रदेशमा ४९७ आगलागीका घटना भएका छन । १२३ स्थानमा वन डढेलो, १०८ पहिरो, ४२ जनावर आतंक, १६ भारी बर्ष भएको तथ्याङ्क छ । त्यस्तै बाढी १२, हुरीवतास ११, अन्य गैर प्राकृतिक विपद् ३, सर्पदश ३, हिमपहिरो ३ र एक पटक भुकम्प गएको तथ्याङ्क छ ।

पहिरोको उच्च जोखिम
गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टल अनुसार बागमती प्रदेशका जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेका छन् । २०६९ देखि २०७९ सम्मको तथ्याङ्क विश्लेषण गर्दा प्रदेशभर ६०२ वटा पहिरोका घटना घटेकोमा तीनसय जनाको मृत्यु भएको छ भने विगत दश बर्षमा २०७७ सालमा पहिरोबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको तथ्याङ्क छ । बागमती प्रदेश विपद् जोखिमको दृष्टिकोणले बहुप्रकोपीय उच्च जोखिममा रहेको छ । नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घट्ना भएकोमा नुवाकोट जिल्लामा सबैभन्दा बढी क्षति भएको थियो ।

प्रदेशको स्थापना भएको ७ बर्षको अवधिमा विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश विपद् व्यवस्थापन नीति २०७६, प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना (२०७६–२०८७) लगायतका विभिन्न कानूनहरु तर्जुमा भई कार्यान्वयनमा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

दश बर्षमा एघार हजार ८५२ जनाको मृत्यु, ७ खर्व क्षति
गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टल अनुसार बागमती प्रदेशमा दश बर्षको अवधिमा एघार हजार ८५२ जनाको मृत्यु भएको छ । २०१३ जुलाई देखि २०२३ जुलाई सम्म बागमती प्रदेशमा बाढी, पहिरो, भूकम्प, आगलागी पाँच हजार ५८१ घटनामा सो क्षति भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय अधिकृत आठौं रबिता कार्कीका अनुसार दश बर्षको अवधिमा भूकम्पमा परेर ८ हजार ३७०, आगलागीमा ४६९, बाढीमा परेर एकहजार १२८ र पहिरोमा परेर एकहजार ८८५ जनाको मृत्यु भएको हो । ११ लाख ९९ हजार ६१६ जनसङ्ख्या प्रभावित बनेका छन् । पाँच लाख चार हजार नीजिघार क्षतिग्रस्त भएको छ ।

दश बर्षको अवधिमा विपद्मा परेर प्रदेशमा ७ खर्बको क्षति भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय अधिकृत आठौं रबिता कार्कीका अनुसार भूकम्प, आगलागी, बाढी र पहिरोका कारण ७ खर्ब ६५ अर्व ७९ करोड ८८ लाख ४० हजार बराबरको क्षति भएको जानकारी दिइन् ।
गोरखापत्रबाट साभार