हेटौँडा । उत्तरी मकवानपुरको दामनमा दुर्लभ सूचीमा रहेको गुराँसको प्रजाति ‘चिमाल’ भेटिएको छ । थाहा नगरपालिका–४ को महाङ्काल सामुदायिक वन क्षेत्रमा भेटिएको चिमालको सङ्ख्या निकै कम रहेको छ । केही वर्षदेखि नै आफूले त्यस्तो गुराँस फुलिरहेको देखेको करुणाभूमि सामुदायिक वन थाहा–४ का अध्यक्ष निनोद लामाले जानकारी दिए ।

इलाम जिल्ला माइपोखरी क्षेत्रमा मात्र देखा परेको यो चिमाल मकवानपुरको दामनमा पनि फेला परेको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख एवं वनस्पतिविज्ञ रघुराम पराजुलीले जानकारी दिए । उनले इलामको वनस्पति उद्यानमा कार्यरत रहँदा चिमालको खोज, अध्ययन गरेका थिए ।

इलामपछि मकवानपुरको दामनमा दुर्लभ सूचीमा रहेको गुराँस फेला परेको वनस्पतिविज्ञ पराजुलीको भनाइ छ । गुराँसका ३३ प्रजातिमध्ये अहिले दामनमा भेटिएको दुर्लभ प्रजाति हो, यसबारे थप अध्ययन, अनुसन्धान र खोजी गर्ने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार करिब १५ वर्षअघि नेपालका लेकाली क्षेत्रमा चिमालको अध्ययन गर्दा इलामबाहेक अन्य जिल्लामा देखिएको थिएन, दोस्रो जिल्ला मकवानपुरको दामनमा फेला परेको हो । स्थानीयले पठाएको फोटो र दिएको जानकारीका आधारमा वनस्पतिविज्ञ पराजुलीले दुर्लभ वनस्पती चिमाल भएको बताए । नेपालमा चिमालको सन् २००९ मा अध्ययन भएको थियो ।

अध्ययन अनुसार कतिपय स्थानमा यसलाई लहरे चिमाल गुराँससमेत भनिने गरिएको छ । पूर्वी हिमालय क्षेत्रमा यसको सर्वप्रथम पहिचान गरिएको अध्ययनले देखाएको छ । उक्त क्षेत्र भनेको हालको सिक्किम हो । यो प्रजातिको गुराँस एक एपिफाइट हो, सामान्यतया रुख, चट्टान र ढुङ्गामा पाइन्छ । हिमालयको तल्लो भागमा पाँच हजारदेखि नौ हजार फिटको उचाइमा पाइने चिमाल तिब्बत, भुटान, नेपाल र उत्तरपूर्वी भारतको दक्षिणी सिमानामा, विशेष गरी अरुणाचल प्रदेशमा पाइने अभिलेख भेटिएको छ ।

वयस्क बिरुवामा पात ३ देखि ८ इन्च लम्बाइ र ३ इन्च चौडा हुन्छन् । फूलको रङ सेतोदेखि क्रिम, फिक्का पहेँलो वा पहेँलो गुलाबीसम्म फरक फरक हुन्छ । फूलमा मन्द कागतीको सुगन्ध आउने गर्दछ । यसको बास्नाले मात लाग्ने इलामका स्थानीयले भन्ने गरेको अनुभव विज्ञ पराजुलीले सुनाए । चैत लागेसँगै हिमाली क्षेत्रका वन गुराँसका प्रजाति (चिमाल) ले रङ्गीन फुल्ने गरेको सुनेको भए पनि दामन क्षेत्रमा अन्य गुराँस फुलिसकेपछि अन्तिममा यो फुल्ने गरेको अध्यक्ष लामाले बताए ।

सीमित सङ्ख्यामा रहेको चिमाल पछिल्लो समय सङ्कटमा पर्दै गएकाले संरक्षण गर्नुपरेको जिल्ला वनस्पति कार्यालय मकवानपुरले जनाएको छ । चिमालको कटिङबाट पनि बिरुवा उत्पादन गर्न सकिने पराजुलीले बताए । चिमालको फूल स्थानीयले औषधीका रूपमा समेत प्रयोग गर्दै आएको पाइन्छ । गुराँस पूर्वी पहाडी क्षेत्रमा बढी पाइन्छ भने पश्चिम नेपालतर्फ क्रमशः कम हुँदै गएको भेटिन्छ । नेपालका ४३ जिल्लामा ३३ प्रजातिका गुराँस पाइने गरेको एक अध्ययनले देखाएको छ ।
गोरखापत्र दैनिकका लागि हेटौँडाबाट अनिल पराजुलीले लेख्नुभएको समाचार सामाग्री हामीले साभार गरेका हौँ ।