हेटाैँडा । अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन्।

बागमती प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका उनले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए।

आज दिउँसो बसेको पार्टि संसदीय दलको सुझावअनुसार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट राजीनामाको घोषणा गर्ने ढकालले बताए।

तत्कालीन सत्तासाझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरु बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा छन्। केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सत्तासमिकरण बनेपछि प्रदेशमा पनि सरकार परिवर्तन हुन लागेको हो।

कांग्रेस र एमालेबीच भएको केन्द्रीय सहमतीअनुसार बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमती भएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलको आइतबारको बैठकले दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय समेत गरेको छ।

११० प्रदेश सदस्य रहेको बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद छन्। यहाँ सरकार गठनका लागि ५४ सांसदको समर्थन भए पुग्छ।

Visited 45 times, 1 visit(s) today