हेटौँडा । प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौँडाले एकसय बयान्नब्बे मेक्ट्रिकटन बीउ प्रमाणीकरण गरेको छ । गत आर्थिक बर्ष २०८०–८१ मा दुईसय मेक्ट्रिक्टन बीउ प्रमाणीकरण गर्ने लक्ष्य राखेकोमा झण्डै लक्ष्य अनुसारको बीउ प्रमाणीकरण गर्न सफल भएको हो ।

एक वर्षको अवधिमा केन्द्रले धानको ८५ दशमलव ९१ मेक्ट्रिकटन, गहुँको ७४ दशमलव ७२ मेक्ट्रिकटन र मकैको ३१ दशमलव ३७ मेक्ट्रिकटन बीउ प्रमाणीकरण गरेको प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र बाली विकास अधिकृत एवम् सूचना अधिकारी सिर्मला योन्जनले जानकारी दिइन । बिशेष गरेर प्रदेशका चितवन, नुवाकोट र दोलखाको मुल बीउको प्रमाणीकरण गरिएको उनले बताइन ।

चितवन, धादिङ, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुरमा उत्पादन भएको धान, गहुँ, मकै, तोरी, मुसुरो, कोदो, भटमास लगायतको बालीको प्रदेश बीउबिजन गुणस्तर निणन्त्रण केन्द्रले बीउ सिफारिस र प्रमाणीकरण गर्दै आएको प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हेटौैँडाका सूचना अधिकारी योन्जनले बताएन् । उनले उमार शक्ति, चिस्यान र बीउको शुद्धताको आधारमा प्रमाणीकरण गर्ने गरेको बताइन् । “बाली अनुसार फरक–फरक मापदण्ड हुन्छ, बीउको खडावाली, रोग किरा लागे नलागेको, सम्बन्धित स्थानमा गएर मूल बीउ र प्रमाणिक बीउको नमुना ल्याएर प्रयोगशालामा शुद्धता, उमार शक्ति हेरेपछि मापदण्ड पूरा भएका बीउलाई प्रमाणीकरण गर्ने गरेका छौँ,” उनले भनिन ।

प्रदेशमा खेत अर्थात बाली निरीक्षण बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा बाली निरीक्षण बढेको तथ्याङ्क छ । केन्द्रको तथ्याङ्क अनुसार आव २०७९–८० मा एकहजार १८५ दशमलव ७२ हेक्टरमा बाली निरीक्षण गरिएकोमा गत आवमा २०८०–८१ मा एकहजार २३३ दशमलव ८ हेक्टर क्षेत्रफलमा बाली निरीक्षण गरेको हो । धान ७०५ दशमलव ३१ हेक्टर, मकै ६५ दशमलव ८३ हेक्टर, गहुँ ४३८ दशमलव ६ हेक्टर, तोरी १२ दशमलव ९४हेक्टर, पालुङ्गो १६ हेक्टर र कोदो ४ दशमलव ४ हेक्टर क्षेत्रफलमा गरीएको बाली निरीक्षण गरिएको हो । बीउको गुणस्तर नियन्त्रण, रोग लागेकालाई निष्कासित गर्न र उत्पादन, उमार शक्ति राम्रो भएको बीउका लागि बाली निरीक्षण गरिएको सूचना अधिकारी योन्जनको भनाई छ ।

प्रद्रेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको उन्नत बीउ उत्पादन प्रोत्साहन कार्यक्रम चार जिल्लामा सञ्चालन गरेको थियो । चितवन, मकवानपुर, धादिङ र काभ्रेमा उन्नत बीउ उत्पादनमा प्रोत्साहन गर्न ५ सय ३५ दशमलव ७५ हेक्टरमा प्रोत्साहन गरिएको हो । क्षेत्र निर्धारणका आधारमा बीउ उत्पादन सँग जोडिएका समूह, सहकारी, कम्पनीका किसानलाई उन्नत बीउ उत्पादन गर्न प्रोत्साहन गर्ने हेतुले प्रति हेक्टर १५ हजार र मूल बीउका लागि प्रति हेक्टर २० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको थियो ।

प्रदेश कार्यालयले गत आवमा एक हजार ३४ बीउको नमूना परीक्षण गरेको छ । चितवन, मकवानपुर, धादिङ र काभ्रेमा धान, मकै, गहुँ, तरकारी र जै घाँसको बीउबिजनमा आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिएको छ । बीउ बजार प्रवर्द्धन तथा सहयोग कार्यक्रम, बीउ स्रोत केन्द्र स्थापना, गुणस्तर नियन्त्रण तथा नियमन गर्ने लगायतका कार्य हेटौँडा कार्यालयले गर्दै आएको छ । प्रदेशमा सबैभन्दा धेरै बीउ विजन उत्पादन गर्ने जिल्ला चितवन रहेको छ भने सबैभन्दा न्यून रसुवा छ ।
बागमती प्रदेशमा व्यावसायिक रूपमा मुख्य खाद्यान्न, दलहन, तरकारी बालीको गुणस्तरीय बीउ उत्पादन तथा प्रमाणीकरण हुने गरेको छ । हेटौँडामा रहेको प्रयोगशाला सँगको समन्वयमा नियमित रूपमा बीउ उत्पादन तथा प्रमाणीकरण गर्ने गरिएको छ । कृषि उत्पादन वृद्धिको लागि उन्नत जानतको गुणस्तरयुक्त बीउको प्रयोग पूर्व सर्त भएको बताउँदै बीउ बिजन प्रयोगशाला हेटौँडाका सूचना अधिकारी योन्जनले गुणस्तरयुक्त बीउ एक आधारभूत, संवेदनशील सामाग्री भएकाले उत्पादकत्व तथा आर्थिक वृद्धिमा प्रभाव पार्ने बताइन् ।

प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले बीउ बिजन परीक्षणको सेवा शुल्क समेत निर्धारण गरेको छ । केन्द्रले उमारशक्ति परीक्षणका लागि प्रति नमूना २२९ रुपैयाँ दर तोकेको छ । त्यस्तै शुद्धता परीक्षणका लागि १७४ रुपैयाँ, चिस्यान परीक्षणका लागि १५४ रुपैयाँ, टेट्राजोलियन टेष्ट २८९ रुपियाँ, भिगर परीक्षण २३२ रुपियाँ, बीउको स्वास्थ्य परीक्षणका लागि ३५१ रुपियाँ शुल्क तोकेको छ । एक हजार दाना तौल ११० रुपियाँ र बीउ नमूना लिए बापत प्रति नमूना २१४ तोकिएको छ । खेत निरीक्षणका लागि ३२० प्रति हेक्टर र बीउ प्रमाणिकरणका लागि प्रति मेक्ट्रिक्टन एकसय तोकिएको छ । नेपाल सरकारको २०७० माघ ८ गतेको निर्णयानुसार खण्ड ६३ अतिरिक्ताङ्क ३० (क) नेपाल राजपत्र भाग ५ को २०७० फागुन १ मा प्रकाशित सूचना अनुसार शुल्क लिइएको कार्यालयले जनाएको छ ।

नेपालमा २० देखि २५ प्रतिशत उत्पादन वृद्धि गुणस्तरयुक्त बीउको कारणले हुनेगरेको तथ्याङ्क छ । नेपालमा कूल बीउको माग करिब ४५ हजार मेक्ट्रिकटन भए पनि ३८ हजार मेक्ट्रिक्टन मात्रै आपूर्ति भएको देखिन्छ । हाल नेपालमा करिब २२ प्रतिशत बीउ मात्रै औपचारिक क्षेत्रबाट आपूर्ति भइरहेको छ ।