हेटौँडा । बागमती प्रदेश सरकारको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले सम्भाव्यता अध्ययन गरेर मात्रै उद्योग सञ्चालन गर्न आग्रह गरेकी छिन् । गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिसँग सोमवार भएको छलफलमा मन्त्री तामाङले उद्योग सञ्चालन गर्दा सम्भाव्यता अध्ययन पहिलो प्राथमिकतामा राख्नुपर्ने बताइन ।

मन्त्री तामाङले आफू उद्योग मन्त्रीमा नियुक्त भइसकेपछि ‘एक पालिका, एक उद्योग’ कार्यक्रमलाई अगाडि सारेको बताउँदै प्रदेशभरि उद्योग बढाउने र उद्यमी बनाउने उद्देश्य रहेको बताइन । स्थानीय स्रोत साधन पर्याप्त भएको ठाउँमा उद्योग सञ्चालन गर्दा दिगो हुने बताउँदै उनले युवा र महिलाहरूलाई रोजगारी दिनेगरी उद्योग स्थापना गर्नुपर्नेमा जोड दिइन । मन्त्री तामाङले नीतिगत सुधारका लागि स्थानीय सरकारकासँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाइन ।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष कर्ण बहादुर मगरले न्यायोचित ढङ्गले विकास निर्माणका कार्यहरू वितरण गर्न माग गरिन। उनले मन्त्रालयबाट हुने कामहरू अभिभावक बनेर सहयोग गर्दै नीतिगत सुधारका लागि सहयोग गर्न आग्रह गरिन । कार्यक्रममा महासङ्घ बागमती प्रदेश कार्यसमिति उपाध्यक्ष दिछ्यान शेर्पा, सह–सचिव मान कुमारी पाख्रीन, कोषाध्यक्ष शंकरराज बराल र सदस्यहरू कृष्ण मान लामा, देविका थामी, सविता अर्याल, राम सिंह तामाङ लगायतको सहभागिता रहेको थियो ।