हेटौँडा । ‘‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धिः डिजिटल प्रविधिमा युवा पहुँच अभिबृद्धि” भन्ने मुल नाराका साथ हेटौँडामा सोमवार २५ औं अन्तराष्ट्रिय युवा दिवस मनाईएको छ । प्रदेश युवा परिषद् हेटौँडाको आयोजनामा दिवस मनाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवाका लागि प्रदेश सरकारले रोजगारीको प्रयास गरिरहेको बताए । प्रदेशमा सबै भन्दा कम बजेट युवा तथा खेलकुद मन्त्रालयमा रहेको बताउँदै काम गर्न समस्या भएको उनको भनाई छ । कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाका लागि परिषद्ले सीप मूलक तालिम दिएको बताए ।

प्रदेश सरकारले गरेको डिजिटलाइजेशनको प्रयोग, अभ्यास र प्रगतिको प्रस्तुतिकरण र युथ इन्गेजमेन्ट डिजिटल फोरमको बारेमा जानकारी दिइ मकवानपुरको १० पालिकाको प्रकोप संभावित क्षेत्रको डिजिटल नक्साङ्कन र प्रस्तुतिकरण गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले इन्गेजमेन्ट डिजिटल फोरमको बारेमा सहभागिलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघका आरती पाठक, युवा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरे लगायतकाको आतिथ्यता रहेको थियो ।