हेटौँडा । लोपोन्मुख वनस्पतिको खोज, अनुसन्धान र संरक्षण गर्दै आएको वनस्पति अनुसन्धान केन्द्र, वृन्दावन वनस्पति उद्यान मकवानपुरमा ‘सम्मानित वृक्षारोपण’ प्रभावकारी बन्दै गएको छ । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत रहेको वृन्दावन वनस्पति उद्यानले देशमै पहिलो पटक सुरु गरेको सेरेमोनियल प्लान्टेसन अर्थात ‘सम्मानित वृक्षारोपण’ कार्यक्रम प्रभावकारी भएको हो ।
उद्यानलाई स्थानीय र अवलोकनकर्तासँग नाता गाँसियोस् भन्ने अभिप्रायले सेरेमोनियल प्लान्टेसन प्लटको अवधारणा विकास गरेकोमा हालसम्म १३९ जना व्यक्तित्वहरूले बिरुवा रोपन गरेका छन । सेरेमोनियलको प्रावधान हाल वन नियमावलीमा सम्मानित वृक्षारोपण भई आएको छ । यो प्रावधान वृन्दावन वनस्पति उद्यान र पर्वतीय वनस्पति उद्यान दामनमा कार्यान्वयनमा आएको हो । यो अवधारणा २०७८ सालदेखि सुरुवात भएको हो ।
वनस्पति उद्यानभित्र बिल्कुलै नयाँ ढाँचाको थिमेटिक गार्डेन बनाउने उद्देश्यले उद्यानभित्रको करिव एक हेक्टर भन्दा बढी रिक्त रहेको जग्गामा सम्मानित वृक्षारोपण गरिएको छ । कार्यालय प्रमुख रघुराम पराजुलीको जन्मदिनको अवसर पारेर श्रीखण्डको विरुवा रोपण गर्दै यो कार्यक्रमको सुरुवात भएको थियो । जन्म दिन, वैवाहिक वर्षगाँठमा, आमाको बाबुको मुख हेर्ने दिन, विभिन्न दिवस एवम् उद्यान भ्रमणमा आउने र कर्मचारीहरूले ‘सम्मानित वृक्षारोपण’ गर्ने गर्नुभएको छ ।
वन नियमावली २०७९ मा उद्यानमा टिकटिङ प्रावधानकै क्रममा सम्मानित वृक्षरोपणको प्रति बिरुवा रोपन र संरक्षणका लागि दुइहजार राजस्व कायम गरिएको छ । यहाँ अमेरिकन, जर्मनी नागरिकसहित पूर्व राजदूत, प्रदेश प्रमुख, विभिन्न सरकारी कार्यालयका कर्मचारी र यहाँ भ्रमणमा आउनेहरुले वृक्षारोपण गरेका छन ।
सम्मानित वृक्षारोपण गर्न चाहनेका लागि यहाँ बहुवर्षीय प्रजातिको बिरुवा कार्यालयले उपलब्ध गराउनेका साथै हुर्काउने र बिरुवाको संरक्षण एवम् नेम प्लेट सहितको विवरण राख्ने गरिएको कार्यालय प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए । सम्मानित वृक्षारोपणप्रति पछिल्लो समय आकर्षण बढ्दै गएको छ, बिरुवा मरेको खण्डमा हामीहरूले नै पुनः रोपण पनि गर्दै आएका छौँ, कार्यालय प्रमुख पराजुलीले भने ।
यहाँ रुद्राक्ष, सिता अशोक, पिपल, छतिवन, चिउरी, अमला, वर, समि, कपुर, कटहर, वेल, राजवृक्ष, कदम, निम, अर्जुन, आप, जमुना, श्रीखण्ड, चाप, वेल, तेजपात, अगस्ती, दार, हरो, इमली, सुगन्ध कोकिला लगायतका बिरुवा रोपन गरिएको छ । गत आवमा वृन्दावनमा ३६ र दामनमा २ जनाले सम्मानित वृक्षारोपण गरेकोे तथ्याङ्क छ ।
वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गतका ३ वटा वनस्पति उद्यानहरूमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिहरूको वंशाणु स्रोत संरक्षित छन् । जिल्ला भित्रका एवं चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सर्वेक्षण, संकलन गरी पहिचान गर्ने र वनस्पतिहरूको हर्वेरियम नमुना संरक्षित गर्ने कार्य गर्दै आइरहेको छ । अध्ययन अनुसन्धानका क्षेत्रमा यस केन्द्रले स्थापना कालदेखि नै विभिन्न जडीबुटी तथा आर्थिक महत्वका वनस्पतिहरूको अध्ययन गरी खेती प्रविधि विकास गरेको छ ।
त्यसैगरी विभिन्न आदिवासी तथा जनजातिहरूले प्रयोग गर्दै आइरहेका वनस्पतिहरूको अभिलेखिकरण गर्दै वनस्पति प्रयोग र संरक्षणबारे सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । बिरुवा उत्पादन गरी वितरण गर्ने, विभिन्न सामग्रीहरू प्रकाशन गरी वितरण गर्ने, पर्यावरणीय सौन्दर्य बढाइ पर्यापर्यटन अभिवृद्धि गर्ने र आर्थिक विकासमा टेवा पुरÞ्याई गरीबी न्यूनीकरणमा सहयोग पुर्याउने लक्ष्यका साथ प्राविधिक तथा विविध सेवा पुर्याउँदै आएको छ ।
केन्द्रले वनस्पति सम्पदाहरूको विस्तृत सर्वेक्षण, संकलन तथा पहिचान गर्ने वनस्पतिहरूको वंशाणु स्रोत संरक्षण गर्ने, जडीबुटीहरू सम्बन्धी अध्ययन, अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने, सुगन्धित तेलयुक्त वनस्पतिहरूको तेल प्रतिशत परीक्षण गर्ने, प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीहरूको सूचना प्रवाह गर्ने, परम्परागत वनस्पति उपयोगसम्बन्धी अध्ययन (एथ्नो बोटानिकल स्टडी), अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोतको उपयोग सम्बन्धी ज्ञानलाई अभिलेखीकरण गर्ने, जडीबुटीहरूको बिरुवा उत्पादन तथा वितरण गर्ने, जडीबुटी संरक्षण, खेती तथा प्रशोधनका बारेमा तालिम तथा सेवा प्रदान गर्नेलगायतका उद्देश्य यो कार्यालयको रहेको छ ।
कार्यालयले अहिले जडीबुटीको गुणस्तरीय बिरुवा उत्पादन गर्ने, जडीबुटी खेती प्रविधि विकास गरी प्राविधिक सीप हस्तान्तरण गर्ने, जडीबुटी प्रजातिका वासस्थान संरक्षण तथा व्यवस्थापन गर्ने, जडीबुटीहरू सम्बन्धी सूचना तथा नमूना प्रदर्शन गर्ने, जडीबुटी खेतीप्रति कृषकलाई अभिप्ररित गर्ने, महत्वपूर्ण जडीबुटीहरू सम्बन्धी समयसामयिक अध्ययन, अनुसन्धान गरी स्थानीय जनसमुदायलाई जडीबुटी खेतीतर्फ प्रोत्साहित गर्ने, वनस्पतिहरूको सर्वेक्षण गरी दुर्लभ, लोपोन्मुख तथा संकटापूर्ण अवस्थाका वनस्पति संरक्षण गर्ने कार्य गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्