हेटौंडा । यसै आर्थिक बर्षमा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको अभियानमा हेटौंडा–१७ थपिएको छ । शुक्रबार ‘बालश्रम मुक्त, बालबिवाह मुक्त’ वडा घोषणा सँगै हेटौंडा १७ उपमहानगरको चौथो वडा भएको हो ।

यस अघि हेटौंडा–८, २ र ७ नम्बर वडा बालमैत्री वडा घोषणा भैसकेका छन् । सुक्रबार हेटौंडा १७ मा आयोजित वडा स्तरीय कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले वडालाई बालमैत्री घोषणा गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख लामाले उपमहानगर बालमैत्री र युवा मैत्री बनाउँने अभियानलाई अघि बढाउँदै लगेको बताइन् । यसलाई कार्यान्वयनमा लैजानका लागि पालिकाबाट कुनैपनि समस्या नहुँने प्रतिबद्धता जनाइन् । जसरी वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा स्थानियको साथ र सहयोग रहेझै यसलाई दिगो बनाउँनका लागि पनि यस्तै सहयोगको आवश्यकता रहेको बताइन् ।

बालमैत्री वडा घोषणाका लागि तोकिएका सुचक पुरा गरे नगरेको अनुगमन गरेसँगै वडाहरुलाई बालमैत्री घोषणा गरीदै आएको छ । घोषणा सभा हुनु अगाबै वडाका बिभिन्न टोलबिकास समुह, आमा समुह, सहकारीको टोलीले ¥याली प्रदर्शन गरेको थियो । सनिवार पाँचौं वडाको रुपमा हेटौंडा १० नम्बर बालमैत्री घोषणा हुँदैछ ।