hand praying in jail

हेटौँडा । नेपाल सरकार गृह मन्त्रालय अन्तर्रगतको कारागार व्यवस्थापन विभाग काठमाडौँले कैदीबन्दीलाई कैद छुट गरी जेलमुक्त गर्न मकवानपुरको छ जनाको नामावली प्रस्ताव गरेको छ । विभागले असोज ३ मा संविधान दिवसको अवसर ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरेका ४ सय ९२ कैदीलाई कैद छुट गरी जेलमुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

प्रक्रियामा अघि सारिएकोमध्ये मकवानपुरको मनहरी गाउँपालिका–२ का माधव तामाङ लामा भन्ने मायते गोले र विजय गोले छन् । उनीहरु गैंडा मारी खाग बिक्री व्यवसाय सम्बन्धी मुद्दामा जेल परेका थिए । २०७१ कार्तिक ५ गते कारागार पुगेका दुवैलाई जेल मुक्त गर्नका लागि प्रकाशित सूचनामा प्रस्ताव गरिएको छ ।

त्यसै गरी नकाबजनी चोरी र अभद्र व्यवहार मुद्दामा २०७९ साउन ९ गते जेल परेका हेटौँडा उपमहानगरपालिका–४ का संजय देउला पनि कैद मिनाहाको लिस्टमा छन् । नकाबजनी चोरी मुद्दामै २०७९ साउन ९ गते जेल परेका हेटौँडा उपमहानगरपालिका४ का दिवस बल लामा, बहुविवाह मुद्दामा २०८० असोज २२ गते जेल परेका हेटौँडा–१७ का अन्जनप्रसाद कोइराला र कर्तव्य ज्यान मुद्दामा २०७२ पुस २२ गते जेल परेकी बकैया गाउँपालिका५ की रमिला माझी पनि कैद मिनाहाको सिफारिसमा परेकी छिन् ।

त्यस्तै कर्तव्य ज्यान र डाँका मुद्दामा जेल परेका मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का बीरबहादुर गोले छन् । उनी कर्तव्य ज्यान र डाँका मुद्दामा वि.सं. २०७८ पुस ५ गते जेल परेका थिए ।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक ऐन, २०६३ दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका २ जनालाई संविधान दिवको अवसरमा सजाय मिनाह गर्न लागिएको हो । त्यस्तै ’वारदात हुँदाको तत्काल प्रचलित कानून आकर्षित हुने’ भन्ने व्यहोराको सर्वोच्च अदालतबाट समय समयमा भएका आदेश बमोजिम २०७५भदौ १ गते भन्दा अगाडी वारदात भई ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना सहित ४९२ जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्ने प्रयोजनका लागि कैदकट्टा नियमावली, २०७६को नियम ६(३) मा भएको व्यवस्था बमोजिम सजाय मिनाहा गर्न लागिएको उल्लेख छ ।

विभिन्न कसुरमा कैदमा रहेका कैदीहरूको कैद छुटका लागि सार्वजनिक सूचना आह्वान नै गरेर विभागले प्रक्रिया अघि बढाएको हो । कारागार व्यवस्थापन विभागले भदौ १६ गते सूचना जारी गर्दे कैदीबन्दीको नामावलीसहित सातदिने सूचना निकालेको थियो । कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो भए सात दिनभित्र उजुरी दिन विभागले सूचना जारी गरेको छ ।