हेटौँडा । बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या करिव दुई हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि भदौ २३ गते आइतवारसम्म प्रदेशका १३ जिल्लामा एकहजार ९७५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार साउनमा ८४० र भदौ २३ गतेसम्म ११३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी चितवनमा डेङ्गु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार चितवनमा ८४०, काठमाडौँमा ५६३, मकवानपुरमा १८९, ललितपुरमा १५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै काभ्रेपलान्चोक ७०, धादिङमा ६८, भक्तपुर ३४, नुवाकोटमा १९, सिन्धुपाल्चोकमा १३, दोलखामा १२, सिन्धुलीमा ९ र रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । रसुवामा भने डेङ्गु शून्य रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेको छ ।

एक्कासि ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने लगायतका लक्षणहरू डेङ्गु लागेमा देखिने मन्त्रालयका डा. भुसालको भनाइ छ । लामखुट्टेको वृद्धि विकास रोक्न लामखुट्टेले फुल पार्न सक्ने ठाउँ पत्ता लगाई नष्ट गर्ने तथा गमला. टायर वा कुनैपनि खुला भाडामा पानी जम्न नदिन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू अपनाउ र डेङ्गुका लक्षण देखिए तत्काल स्वास्थ्यकर्मी सँग सल्लाह गरी उपचार गराउन आग्रह गरेको छ ।