हेटौँडा । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडा–११, थानाभर्याङमा निर्माणाधीन गौरवको आयोजना प्रादेशिक कृषि थोकबजारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । किसानले श्रमको उचित मूल्य पाउने र बिचौलियाको समस्या हल हुने विश्वासका साथ प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा निर्माण भएको प्रादेशिक कृषि थोकबजार सञ्चालनको तयारी अवस्थामा पुगेको हो ।
९६ प्रतिशत भौतिक प्रगति भएको बजारको कार्यविधि बनाएर सञ्चालनको तयारीमा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय लागेको छ । ठेक्का लिएको अनक–माउण्टेन जेभी काठमाडौँले भवन निर्माणको काम सकेर हस्तान्तरणको अन्तिम तयारीमा रहेको छ । अनक–माउण्टेन जेभी काठमाडौँले ३० करोड ८७ लाख ६२ हजार ७८७ रुपैयाँमा ठेक्का पारेको थियो । थोकबजार निर्माणको गत असारसम्म वित्तीय प्रगति ८६ प्रतिशत रहेको कृषि विकास निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
निर्माण कम्पनीलाई २६ करोड ५५ लाख ३५ हजार ९९६ रुपैयाँ गत असारमै भुक्तानी भएर थप २ करोड भन्दा बढीको भुक्तानीको चरणमा रहेको निर्देशनालयले जानकारी दिएको छ । ९ जेठ २०७८ मा काम सुरु गरेको कम्पनीले जेठ २०८१ भित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियोे । ७ महिना म्याद थप भएर ८ मङ्सिरसम्ममा काम सम्पन्न गरिसक्नु पर्नेछ । सडक कालोपत्रे र अन्य सामान्य काम मात्रै गर्न बाँकी रहेको निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिम्सिनाले जानकारी दिनुभयो । थोकबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेज लगायतका संरचना बनेका छन् ।
बजारको होलसेल मार्केटमा ४० वटा सटर र रिटेलस मार्केटमा २३ वटा सटर रहेको छ । भवनमा अण्डरग्राउण्ड पार्किङको पनि सुविधा छ । एउटै भवनमा दुईवटासम्म लिफ्ट रहेका छन् । माथिल्लो तलामा पनि सटर छ । भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य यहाँबाट गर्न सकिने भएको छ । हाल १ नम्बर वडाको राप्तीतटमा थोकबजार छ । यसैलाई थोकबजारमा ल्याइने जनाइएको छ ।
त्यस्तै कार्यविधि बनाएर छिट्टै सञ्चालनको तयारीमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद भट्टराईले बताए । यता हेटौँडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले थोकबजार सञ्चालनका लागि उपमहानगर तयार रहेको जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८१–८२ मा बागमती सरकारले थोकबजारका लागि ४ करोड विनियोजन गरेको छ । प्रदेश सरकारले ७०–३० को लगानी मोडलअनुसार दुई बिघा ४ धुर क्षेत्रफलमा तीनवर्ष लगाएर थोकबजार निर्माण गर्ने लक्ष्यसहित १४ भदौ २०७७ मा हेटौँडा उपमहानगरपालिकासँग सम्झौता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्