हेटौँडा। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बडादसैँले एकआपसमा मेलमिलाप, एकता र सद्भाव वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन ।

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महान् पर्वले एकतामा वृद्धि गर्ने बताए ।

आफूभित्र र समाजभित्र रहेका असत्यमाथि विजय प्राप्त गर्ने अवसरका रुपमा यो पर्वलाई लिन आग्रह गर्दै उनले सबैतिर सुख, शान्ति र अमनचैन कायम रहोस् भन्ने कामना गरे ।

दसैँको मुखमै आएको प्राकृतिक विपत्तिले देशका धेरै भागमा र खासगरी बागमती प्रदेशमा अकल्पनीय क्षति पुर्‍याएकोमा दुःख व्यक्त गर्दै विषम परिस्थितिबाट माथि उठ्न र उठाउन सबैलाई यो पर्वले ऊर्जा मिलोस् भन्ने उनले आशा व्यक्त गरे ।

चाडपर्वलाई तडकभडक र भड्किलो नबनाई मौलिक संस्कृतिको जगेर्ना हुने गरी सादगी र सभ्य तरिकाले मनाउन आग्रह गर्दै प्रदेश प्रमुख देवकोटाले दुर्गा भवानीले सबैको रक्षा गरुन् भनी प्रार्थना गरेका छन ।