हेटाैँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अघिल्ला वर्षहरूझैँ यस वर्ष पनि तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक लगाएको छ। प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न सर्वसाधारणलाई आग्रह गरेको हो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस वर्ष पनि तिहारमा देउसी तथा भैलोलगायतका सांस्कृतिक मनोरञ्जनात्मक क्रियाकलाप राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचित गरिएको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालयले चाडपर्वको बहानामा पटका, भुइँचम्पा तथा आतिसबाजी नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ। पटका, भुइँचम्पा तथा आतिसबाजीजस्ता प्रज्ज्वलनशील पदार्थको प्रयोगले स्वास्थ्य एवं सुरक्षालगायतका समग्र जनजीवनमा प्रतिकूल असर पर्ने उल्लेख गर्दै सचेत रहन भनिएको छ।
प्रमुख जिल्ला अधिकारी चिलुवालले तिहार तथा छठ पर्वका समयमा जिल्लामा शान्तिसुरक्षालाई प्रभावकारी तुल्याउन सुरक्षाकर्मी परिचालन गरी गस्ती बढाइएको जानकारी दिए। उनले चार्डपर्वलाई शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार व्यक्ति, छिमेक, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपार्न आग्रह गरिएको बताए।
प्रजिअ चिलुवालले पटका, भुइँचम्पा तथा आतिसबाजीजस्ता प्रज्वलनशील पदार्थको भण्डारण, ओसारपसार, बिक्री–वितरण तथा प्रयोगमा पूर्ण रूपमा बन्देज लगाइएको बताउँदै पटकाजन्य पदार्थ पड्काएमा वा बिक्री–वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिए।
यस्तै, चाडबाडको नाममा जुवातास खेल्ने–खेलाउनेजस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्न–नगराउन र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्नेजस्ता समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू पनि नगर्न आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्