हेटौँडा । चिसो बढेसँग डेंगु सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि जिल्लामा जोखिम भने कायमै रहेको छ । चालु आर्थिक बर्ष २०८१÷८२ को साउनदेखि मङ्सिर १० गते सोमबार सम्म मकवानपुरमा डेंगु सङ्क्रमित सङ्ख्या दुईहजार २२१ पुगेको छ । गत आर्थिक वर्षमा जिल्लामा ८९१ जनामा डेंगु भएकोमा चालु आवको मङ्सिर पहिलोसाता सम्म डेंगु सङ्क्रमण ह्वातै बढेको तथ्याङ्क छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार एकहजार १४७ पुरुष र एकहजार ७४ जना महिलामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । चिसो बढेपनि वितेको २४ घण्टामा थप एकजनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ ९०१ पुरुष र ८६६ महिलागरी एकहजार ७६७ जनामा डेंगुु सङ्क्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै मनहरी गाउँपालिकामा २३० जना, मकवानपुरगढी गाउँपालिकामा ५१, भीमफेदी गाउँपालिकामा ३६ जना, बकैया गाउँपालिकामा २४, थाहा नगरपालिकामा १३, कैलाशमा ९,राक्सिराङ गाउँपालिकामा ८, बागमतीमा ३ जनामा डेंगु पुष्टि भएको हो । अन्य जिल्लाका ४० जना र ठेगाना नखुलेको ४० जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको इन्द्र सरोवरमा डेंगु सङ्क्रमितको सङ्ख्या शून्य छ ।
त्यस्तै जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या ४५२ पुगेको तथ्याङ्क छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको मङ्सिर १० गतेसम्म २९९ महिला र १५३ पुरुष स्क्रब टाइफसबाट प्रभावित बनेका हुन् ।
हेटौँडा उपमहानगरपालिकामा २८०, मकवानपुरगढीमा ६१, मनहरीमा २९, बकैयामा २८ जना र भीमफेदीमा २० जना, राक्सिराङमा ७ जना स्क्रब टाइफसबाट प्रभावित हुनुभएको छ । त्यस्तै बागमतीमा ४ जना, कैलाशमा ३, इन्द्रसरोवरमा एकजना प्रभावित हुनुभएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अन्य जिल्लाका १४ र ठेगाना नखुलेका ५ जना स्क्रब टाइफसबाट प्रभावित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्