हेटौँडा । पछिल्लो समय आयुर्वेद तर्फ नागरिकको विश्वास बढ्दै गएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको चार महिनामा १४ हजार २६४ जनाले सेवा लिएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका आयुर्वेद चिकित्सक डा.ललिता पाण्डेका अनुसार ६ हजार हजार ५०९ जनाले बहिरङ्ग सेवा, एक हजार ७८० जनाले पञ्चकर्म र पूर्वकर्म सेवा, नागरिक आरोग्य सेवा एकहजार ७३८ जना र प्रयोगशाला सेवा एकहजार ९०० जनाले लिएका छन ।
त्यस्तै ३२७ जनाले योग सेवा, ३९८ जनाले जेष्ठ नागरिक सेवा, ३४ जनाले स्तनपायी सेवा, ७६२ जनाले अकुपञ्चर सेवा र ८१६ जनाले फिजियो थेपारी सेवा लिनुभएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका तथ्याङ्क फोकलपर्सन प्रेमशंकर प्रसादले जानकारी दिए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपु प्रमुख डा. पाण्डेका अनुसार विगतभन्दा दिन प्रतिदिन आयुर्वेदप्रति सेवाग्रहीको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधीले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । विशेषगरी ग्यास्ट्रिक, हाड जोर्नी तथा नसाको दुःखाइ, पायल्स, रुघाखोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको पाण्डेको भनाइ छ । केन्द्रमार्फत् नेपाल सरकारले निर्धारण गरेको २३ थरीका औषधी निःशुल्क वितरण गरिएको छ ।
जिल्लामा हाल छ वटा नागरिक आरोग्य सेवा केन्द्र र तीन वटा आयुर्वेद औषधालयमार्फत् सेवा प्रदान गरिँदै आएको छ । मकवानपुरको मनहरी, राक्सिराङ, कैलाश, बागमती र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छ ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका वडा नं. १५ चुरियामाई, हेटौँडा–१७ मा हटिया र राक्सिराङको काँकडामा आयुर्वेध औषधालयमार्फत सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हेटौँडा मकवानपुरका कविराज निरीक्षक विनोदकुमार साहले जानकारी दिए । सो क्षेत्रमा वाथ, छालासम्बन्धी समस्या धेरैमा हुनेगरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्