हेटाैँडा । मकवानपुरको बकैया गाउँपालिकामा खेलग्रामको उद्घाटन गरिएको छ। ग्रामको सोमबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले उद्घाटन गरेका हुन्।

२०७६ सालबाट युवा तथा खेलकुद मन्त्रालय र बकैया गाउँपालिकाले बहुवर्षीय योजनाका रूपमा उक्त खेलग्रामका लागि बजेट विनियोजन गर्दै आएका छन्। हालसम्म १ करोड ५१ लाख रुपैयाँ खर्च गरेर फुटबल रंगशाला, प्यारापिट, व्यवस्थित शौचालय, टिकट काउन्टर तथा सुरक्षा कक्ष निर्माण गरिनुको क्लबका अध्यक्ष कृष्ण घतानीले जानकारी दिए। खेलग्रामका ५२ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको छ।

खेलग्रामको उद्घाट्न गर्दै मन्त्री महर्जनले बकैया खेलग्राममा थप आवश्यक भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले बागमती प्रदेश सरकार खेलकुदमैत्री रहेको दाबी गर्दै आफू पनि खेलकुद क्षेत्रबाटै यहाँसम्म आएकाले सबैसँग हातेमालो गर्दै काम गर्ने बताए।

‘म १२ वर्षको उमेरदेखि खेलकुद क्षेत्रमा छु, मैले मेरो जीवन खेलकुदमै बिताएकोले म यसको सम्भावना, समस्या र चुनौतीको बारेमा जानकार छु,’ मन्त्री महर्जनले भने, ‘मैले रोजेरै खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको हुँ। बागमती प्रदेशको खेल क्षेत्रको विकासमा योजनाबद्ध कार्य गर्नेछु।’

उनले प्रदेशका माननीय ईन्द्रबहादुर बानियाँ र बकैया गाउँपालिकाका पूर्वअध्यक्ष दामोदर खनालले आफूलाई खेलग्रामको बारेमा जानकारी गराएको उल्लेख गर्दै खेलग्रामको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैबिच सोमबारबाट बकैयामा वडास्तरीय फुटबल प्रतियोगितासमेत सुरु भएको छ। ७ दिनसम्म चल्ने प्रतियोगितामा मकवानपुर, बारा र सर्लाहीका ८ वटा टिमको सहभागिता छ। प्रतियोगिताको विजेता समूहले १ लाख ११ हजार १११ र दोस्रो हुने समूहले ५५ हजार ५५५ नगदसहित सिल्ड, मेडल प्राप्त गर्ने क्लबका अध्यक्ष घतानीले जानकारी दिए।