हेटौँडा । बागमती प्रदेश सरकार र मधेस प्रदेश सरकारले दुई प्रदेश जोड्ने सडक सञ्जाल विस्तार गर्ने तयारी गरेका छन् । सडक सञ्जाल विस्तार गर्नका लागि प्रारम्भिक चरणमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री र मधेश प्रदेश सरकारका अर्थ मन्त्रीले संयुक्त रूपमा अवलोकन भ्रमण गरेका हुन ।

मधेश प्रदेशको सर्लाही जिल्लाको विष्णु गाउँपालिकादेखि हरिवन क्यानेश्वर हुँदै सिन्धुली जिल्लाको मरिण गाउँपालिकाबाट मदन भण्डारी राजमार्गसँग सडक सञ्जाल जोड्ने तयारी गरिएको हो ।

बागमती प्रदेशको सिन्धुलीको मरिणदेखि मधेश प्रदेशको हरिवनसम्म करिब ६० किलोमिटर सडक सञ्जाल विस्तार गर्ने प्रारम्भिक तयारी गरिएको आर्थिक मामिला तथा योजना मन्त्रीका निजी सचिव अनुप अधिकारीले जानकारी दिए। उनका अनुसार हरिवन क्यानेश्वर खोला सम्म १३ किलोमिटर, क्यानेश्वर खोलादेखि मरिणसम्म २२ किलोमिटर र मरिणदेखि नेपाल थोक हुम्जासम्म ३५ किलोमिटर सडक निर्माण गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ । मधेश प्रदेशको हरिवनदेखि जिमिलेडाडासम्म करिब ८ किलोमिटर सडक निर्माण गर्नुपर्ने प्रारम्भिक अनुमान छ ।

मधेस प्रदेशको सर्लाही जिल्लाको विष्णु गाउँपालिकादेखि हरिवन क्यानेश्वर हुँदै मदन भण्डारी राजमार्ग अवलोकन गर्ने क्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सडक निर्माणका लागि बागमती प्रदेश सरकार इमान्दारपूर्वक लाग्ने बताए । प्रदेश सरकारले पुल निर्माण गरिसकेको जानकारी दिँदै उनले प्रदेश सरकारले नीति तथा योजनामै प्रादेशिक  सडक र आन्तरिक जिल्ला जोड्ने सडक विशेष प्राथमिकतामा राखेको बताए । उनले स्थानीयवासीलाई उत्पादनमा जोड दिन आग्रह गर्दै सडक निर्माण पश्चात् यहाँको उत्पादन बजारीकरण मार्फत अर्थतन्त्रसँग जोडिन आग्रह गरे। उनले बागमतीको सिन्धुलीमा उत्पादन भएको उत्पादन मधेश प्रदेशमा पुर्याउनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री काफ्लेले मधेसीको आन्दोलनबाट सङ्घीयता आएको बताउँदै दुबै प्रदेश जोड्ने सडक सञ्जाल निर्माणलाई प्रदेशको पहिलो कामका रूपमा अगाडि बढाउने बताए। उनले शिक्षासँगै सडक र विकास निर्माणमा सरकार लागिरहेको बताउँदै देशभर ठुला योजना सम्पन्न गरिरहेको जानकारी दिए। “देश विदेशीले बनाउने होइन हामी आफैं मिलेर बनाउनुपर्छ,” मन्त्री काफ्लेले भने । बागमती प्रदेशमा पर्ने सडक प्रदेश सरकारले बनाउने उनले प्रतिबद्धता जनाए ।

त्यस्तै मधेश प्रदेश सरकारका अर्थ मन्त्री सुनिलकुमार यादवले दुई प्रदेश जोड्ने महत्त्वपूर्ण सडक भएकाले योजना बनाए काम गर्ने बताए । उनले मधेश प्रदेश सरकारले प्राथमिकताका साथ यो सडक सञ्जाल निर्माण गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा मधेश प्रदेश र बागमती प्रदेशका जनप्रतिनिधिसहित हरिवन उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरुको सहभागिता थियो । उनीहरूले पनि दुई प्रदेशको सम्बन्ध स्थापना गर्न सडक सञ्जालले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यो सडक महत्त्वपूर्ण सडकको रूपमा रहेको बताए । गाेरखापत्रबाट साभार