हेटौँडा । थाहा आन्दोलनका प्रणेता दिवङ्गत रुपचन्द्र बिष्ट ’रुदाने’को ९१ औँ जन्म जयन्ती तथा थाहा दिवस विविध कार्यक्रम गरी मनाइएको छ । रुपचन्द्रको जन्मभूमि थाहा नगरपालिकामा रुदानेको सम्झनामा थाहा दिवस मनाइएको हो ।
थाहा नगरपालिका वडा न ३ को आयोजना तथा फरक सोचको समन्वयमा शिखर कोटमा रहेको विकास घरको प्रागणमा कार्यक्रमको आयोजना गरिएको हो ।
वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षता तथा नगर प्रमुख विष्णु बिष्टको प्रमुख आतिथ्यता र नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा रुपचन्द्र बिष्ट सँगै सहकर्मी भएर हिँडेका जनमुखी सहकर्मीहरूलाई सम्मान तथा रुदानेको सालिकमा माल्यार्पण गर्दै जन्म जयन्ती मनाइएको थियो ।
कार्यक्रममा वक्ताहरूले थाहा आन्दोलनको मर्म र रुदानेको स्वभाव बारे चर्चा गर्दै रुदानेको पथमा हिँड्न र श्रम र जनता लाई प्रधानता दिई जनमुखी राजनीति गरेमात्र रुदाने प्रति सच्चा श्रद्धा हुने बताए ।
कार्यक्रममा नगर प्रमुख विष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,रुपचन्द्र बिष्ट स्मारक स्थानीय समितिका संयोजक विमल कुमार बिष्ट,जनमुखी सहकर्मी हरू ज्योति रायमाझी,प्रेम कुमार केसी,माओवादी थाहा नगर अध्यक्ष विनोद कुमार लामा लगायतकाले रुदाने र थाहा दर्शनको बारेमा आफ्ना धारणा राखेका थिए ।
यसै बिच विगत वर्ष देखि फरक सोचले प्रदान गर्दै आइरहेको थाहा पत्रकारिता पुरस्कार थाहा नगरपालिकाका पत्रकार ममता थापा लाई प्रदान गरिएको छ । अन्नपूर्ण पोष्टमा वरिष्ठ संवाददाताको रूपमा कार्यरत पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो । १० हजार नगद सहित सम्मानपत्र द्वारा नगर प्रमुख विष्णु बिष्ट र उपप्रमुख गोपालीले प्रदान गरे ।
फरक सोचका अध्यक्ष यादव जङ्ग रायमाझीले स्वागत गरेको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,जनमुखी सहकर्मी हरू तथा स्थानीयको उपस्थिति रहेको थियो । थाहा दिवसकै अवसर पारेर विकास घर अगाडि चुनिथान परिसरमा निर्मित जनमुखी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको समेत उद्घाटन गरिएको थियो । दिवा सेवा केन्द्र थाहाको वडा न ३ ले सञ्चालनमा ल्याएको हो ।