हेटौँडा । हेटौँडा उपमहानगरपालिका १८ नं. वडा बालश्रम मुक्त वडा घोषणा हुने भएको छ । वडा कार्यालयले शुक्रवार पत्रकार सम्मेलन मार्फत माघ ४ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको जानकारी दिएको हो ।

वडा सदस्य योगराज खतिवडाका अनुसार वडाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरू पूरा गर्न सफल भएकोले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिए । सो कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

१८ नम्बर वडामा २०७९ को घरधुरी सर्वेक्षणमा १८ वर्ष मूनिका बालबालिकाको जनसङ्ख्या ३ हजार २ सय ७४ रहेको छ । जसमा १ हजार ६ सय ९१ जना बालक र १ हजार ५ सय ८३ जना बालिका रहेका छन् ।

यसअघि १८ नम्बर वडा पूर्ण खोप, पूर्ण साक्षर, खुला दिशामुक्त वडा घोषणा भइसकेको छ । नेपाल सरकारले २०८७ सालसम्ममा सबै स्थानीय तहहरूलाई बालमैत्री स्थानीय तहको रूपमा घोषणा गर्ने लक्ष्य लिए अनुरूप हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाहरूले धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेका छन् ।

यसै गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा पूर्व सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आर्थिक वर्ष २०८०-०८१ मा वडाबाट विनियोजित बजेटबाट सम्पन्न भएका कार्यक्रमबारे प्रतिवेदन पेस गरिएको थियो ।

प्रतिवेदन पेस गर्दै वडा सचिव महेश पुडासैनीले हेटौँडा उपमहानगरपालिकामध्ये १८ नम्बर वडाले शैक्षिक क्षेत्रमा सबैभन्दाबढी लगानी गरेको बताए । उनले बालमैत्री वडा घोषणा कार्यक्रम पूर्वका अभिमुखीकरण, शैक्षिक सुधार तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम, शिक्षक तालिम, युवा तथा खेलकुद, विद्यालय मर्मत तथा सुधार लगायत कार्यक्रममा ८७ लाख ८१ हजार १ सय ९० रुपैयाँ बजेट खर्च भएको जानकारी दिए ।

कार्यक्रममा वडा सदस्य तोयानाथ तिमल्सिना, बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गाना, ज्योति माविका प्रधानाध्यापक हर्क रम्तेल, गोरक्ष माविका मिना श्रेष्ठ, कमला आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द उप्रेती,टोल विकास वडा समन्वय समिति अध्यक्ष विमला विशुंखे, महिला जागरण संस्था हर्नामाडीका अध्यक्ष तेजकुमारी न्यौपाने, विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।