
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा पर्याप्त सिसी क्यामेरा नहुँदा सुरक्षा चुनौती भएको छ । जनघनत्व बढ्दो अवस्थामा हुनु र सवारी साधनको चाप पनि उत्तिकै रहँदा पर्याप्त सिसी क्यामेराको अभावमा सुरक्षा चुनौती थपिएको हो ।
बढ्दो सवारी चाप र सहरीकरणका कारण दुर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटना बढ्ने चुनौती भएको अवस्थामा न्यून सिसी क्यामेरा हुँदा समस्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक विश्वराज खड्काले गुनासो गरे । घटना, दुर्घटनाको खोजबिन गरी सत्य तथ्य पत्ता लगाउन र अपराधी पक्राउ गर्न सिसी क्यामेराको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले सार्वजनिक ठाउँमा राखिएका सिसी क्यामेरा निकै प्रभावकारी हुने बताए ।
प्रदेशको राजधानी हेटौँडाको मुख्य सडक चोक र राजमार्गहरूमा पर्याप्त सिसी क्यामेरा नहुँदा र भएका सिसी क्यामेरा पनि मर्मत संभारको अभावमा बिग्रिएका कारण समस्या भएको उनको गुनासो छ । मकवानपुर जिल्लाभर सार्वजनिक स्थलमा एक सय ५९ वटा सिसी क्यामेरा रहेकोमा त्यसमध्ये ७९ थान सिसी क्यामेरा बिग्रिएर बसेका छन् ।
हाल ८० वटा क्यामेरा मात्रै चालु हालतमा रहेको जानकारी दिर्दै उनले शान्ति सुरक्षालाई थप मजबुत बनाउनको लागि राजमार्ग क्षेत्र र बजार क्षेत्रहरूमा अझै २९ ठाउँमा एएनपिआर सिसी क्यामेरा जडान गरिनुपर्ने बताए । प्रदेश मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाबाट सिसी क्यामेरा मर्मत र नयाँ जडानको काम गर्ने प्रतिबद्धता आएपनि काम अघि बढ्न नसकेको उनको भनाई छ ।
अपराध अनुसन्धान र दुर्घटनाको निष्पक्ष छानबिन गर्न र समग्र शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न सिसी क्यामेरा अत्यन्तै आवश्यक रहेको उनले बताए । सिसी क्यामरा बन्द हुँदा अपराध र विभिन्न घटनाको अनुसन्धानमा असहज भइरहेको बताउँदै उनले सिसी क्यामरा सञ्चालन नहुँदा अपराध गर्ने व्यक्तिको खोजी गर्न समेत समस्या भएको गुनासो पोखे ।
प्रतिक्रिया दिनुहोस्