हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माण गर्दा योजना बैङ्कको अवधारणालाई कार्यान्वयनमा ल्याउने बताएका छन ।

बागमती प्रदेशमा लामो समयदेखि योजना बैङ्क कार्यान्वयनको चर्चा हुँदै आए पनि कार्यान्वयन नभइरहेको अवस्थामा प्रदेश समन्वय परिषद्को पाँचौँ बैठकको समापनमा योजना बैङ्क कार्यान्वयन गर्ने बताए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा भएको प्रदेश समन्वय परिषद्को शुक्रवार  भएको बैठकको समापनमा उनले पहुँचका आधारमा योजना छनोट गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक भएको पनि बताए ।

उनले आफू आर्थिक मामिला तथा योजनामन्त्री हुँदा ५४ वटा योजनालाई आवश्यकताको सिद्धान्त अनुसार ३२ वटा योजनामा झारेको बताए । उनले पछि पुनः टुक्रे योजना थपेर पुरानै स्थिति दोहोरिएको भन्दै प्रदेशभित्र आवश्यक भएका स्थानमा सडक, पुललगायतका ठुला लगानीका योजना बनाउँदा पर्याप्त हुने बताए । बजेट बनाउने समयमा योजना खल्तीबाट झिक्ने प्रचलनको अन्त्य आवश्यक भएको बताउँदै मुख्यमन्त्री लामाले भने, “अब हामीले विकासको मोडल परिवर्तन गर्नु आवश्यक छ ।” उनले अगाडि भने, “डाँडामा भ्युटावर निर्माण गर्छौं । भ्युटावर त डाँडामा होइन, सहरमा बनाउने हो । पर्यटन क्षेत्रको विकास गर्ने भन्यौँ तर त्यसको आधार छैन । सबै हचुवाका आधारमा लगानी भएको छ, लगानीको प्रतिफल प्राप्त गर्न निकै कठिनाइ देखिँदै छ ।

सम्भाव्यता अध्ययनबिनाको लगानीबाट प्रतिफल प्राप्त गर्न नसकिने बताउँदै उनले अध्ययनबिना प्रदेशले लगानी गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने कुरामा जोड दिए । सञ्चालन कार्यविधिबिना नै दुग्ध उत्पादन कारखाना र तरकारी थोक बजार बनाएको बताउँदै उनले भूकम्पपछि गाउँमा योजना गए, संरचना बने पनि गाउँबाट स्थानीय बासिन्दा सहरतर्फ बसाइँसराइ सर्न थालेकाले विकासको मोडालिटी पनि परिवर्तन गर्नुपर्ने धारणा राखे ।

प्रदेश र स्थानीय तहबिचको समन्वय र अन्तरसम्बन्धलाई व्यवस्थित गर्न बसेको प्रदेश समन्वय परिषद्को बैठकमा प्रदेशभित्र प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना वा साझा अधिकारका विषयको कार्यान्वयनको अवस्था, स्थानीय तहको समस्या र अन्तरसम्बन्धबारे छलफल गरिएको थियो । बैठकमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम, रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, बोलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर मगर, बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली, ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङलगायतले अनुदान, योजनालगायतका बारेमा बोलेका थिए ।  प्रदेश तथा स्थानीय तहका कर्मचारी व्यवस्थापनबारे छलफल गर्दै प्रशासनिक सङ्घीयता कार्यान्वयनका आधारतयार गर्न जोड दिए ।

बैठकमा प्रदेश सरकारबाट स्थानीय तहमा विगत तीन वर्षमा भएको वित्तीय हस्तान्तरण, राजस्व बाडँफाँट र त्यसलाई प्रभावकारी बनाउन प्रदेश समन्वय परिषद्ले गर्नुपर्ने निर्णयका लागि आवश्यक सुझाव र प्रदेश र स्थानीय तहको राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउन गर्नुपर्ने सुधारबारे  छलफल गरिएको थियो । बिहीबारबाट सुरु भएको बैठकमा प्रदेशका मन्त्रीपरिषद्का सदस्य रहेका जिल्ला समन्वय समितिका प्रमुख, हेटौँडा उपमहानगरपालिकाका प्रमुख, नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रदेश सरकारका सचिवलगायतको सहभागिता रहेको छ ।