हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सूचना नदिनु निरङ्कुशता भएको बताएका छन ।

प्रदेश सूचना पुनरावेदन समिति, बागमती प्रदेशले मङ्गलबार हेटौँडामा आयोजना गरेको सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सूचनाको हकसम्बन्धी ऐनले नदिनु भनेको बाहेकका सूचना मागकर्ता दिनुपर्ने बताए  ।

सूचनाको हक सुशासनको सूचक भएको भन्दै प्रदेश सरकारका प्रवक्तासमेत रहेका लामिछानेले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनले पारदर्शितामा सहयोग पुग्ने बताए ।

उनले सूचनाको नाममा गलत सुचना दिँदा समाजमा नकारात्मक भावनाको विकास हुने भन्दै सूचनाको हक सम्बन्धी नियमावली बनाउने तयारी भइरहेको जानकारी दिए । कार्यक्रममा मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले जनप्रतिनिधिका लागि जति सूचना दियो त्यति नै राम्रो हुने बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, समितिका सदस्य कृष्ण सारुलगायतले सूचनाको हकको अधिकारको अधिकतम प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश सूचना पुनरावेदन समिति, बागमती प्रदेश समितिका अध्यक्ष हरि अधिकारीले सूचनाको हकसम्बन्धी प्रादेशीक संरचना, उद्देश्यलगायतका विषयमा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव मनुका घिमिरेले सूचनाको हकसम्बन्धी ऐनमा भएका व्यवस्था र सूचना वर्गीकरणलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।