हेटाैँडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार हेटौँडामा लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको पुनर्नभा अस्पताल भवनको शिलान्यास गर्दै मन्त्री थापाले हेटौँडा मात्र नभई बागमती प्रदेशका सबै अस्पतालमा सेवाग्राहीको भिड देखिन थालेको बताए। प्रदेश अस्पतालहरूले प्रदान गर्ने सेवा प्रवाहमा सेवाग्राहीको विश्वास बढ्दै गएको उनको दाबी छ।
‘प्रदेशमातहतका अस्पतालहरूमा प्रदान गरिने सेवा प्रवाह विश्वसनीय र गुणस्तरीय हुँदै गएपछि सेवाग्राहीहरूको भिड देखिन थालेको छ,’ उनले भने, ‘प्रदेश अस्पतालहरूबाट अझ थप सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ।’
मन्त्री थापाले प्रदेश अस्पतालहरूमा गुणस्तरीय सेवा प्रवाहका लागि थप योजना बनाएर लाग्ने बताए। उनले स्वास्थ्य सेवामा हेटौँडाले विगतमा भन्दा फड्को मारेको दाबी गर्दै हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ल्याएपछि अस्पतालले दिने सेवामा सुधार भएको बताए।
रिफर सेन्टरको रूपमा चिनिएको हेटौँडा अस्पताल प्रतिष्ठानअन्तर्गत आएपछि विशेषज्ञ सेवा थपिँदै गर्दा अस्पतालको सेवा प्रभावकारी बनेको उनको भनाइ थियो।
मन्त्री थापाले आयुर्वेद अस्पताल र आँखा अस्पतालहरूको विस्तार पनि प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रदेशका सबै जिल्लाहरूमा आयुर्वेद अस्पतालहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा प्रत्येक जिल्लामा आँखाको उपचार सेवा पुर्याइने बताए। उनले पुनर्नभा अस्पताल निर्माणको लागि व्यक्तिगत रूपमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरे।












प्रतिक्रिया दिनुहोस्