हेटाैँडा । मकवानपुरका सामाजिक संघ सस्थाहरुले विवाहको उमेर २० वर्षलाई नै कायम राख्न ध्यानाकर्षण गराएका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालमार्फत कानून, न्याय तथा संसदिय मामिला मन्त्रालय सिंहदरबार काठमाण्डौमामा उनीहरुले ध्यानाकर्षणपत्र पठाउँदै हाल कायम विवाहको उमेर नघटाउन माग गरेका हुन् । प्रतिनिधीसभा कानून,न्याय तथा मानव अधिकार समितीले गठन गरेको उपसमितीले मिती २०८१ माघ २ मा विवाहको उमेर १८ बर्षमा झार्न सुझाव दिएपछि मकवानपुरबाट यस्तो ध्यानाकर्षणपत्र पठाइएको हो ।

ज्ञापनपत्रमा उल्लेख भएको व्यहोरा बालकल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले वाचन गरेर सुनाएका थिए । उनले विगतमा भएका विभिन्न अध्ययन, अनुसन्धान अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, मानशिक परिपक्वता लगायतका दृष्टिले विवाहको उमेर २० बर्ष कायम गरी निती नियम र ऐन कानूनहरु तय गरिएको प्रष्ट पारे । कम उमेरमा विवाह हुँदा छिटो गर्भवती हुने, त्यसो हुँदा बालबालिकाको मृत्यु हुनसक्ने, गर्भवती आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भिर जोखिम पुग्नसक्ने अध्यक्ष खतिवडाले बताएका थिए ।

यस्तै, कम उमेरमा विवाह हुँदा किशोर-किशोरी, महिला तथा युवाकोे स्वास्थ, शिक्षामा समेत प्रत्यक्ष असर हुने ध्यानाकर्षणपत्रमा उल्लेख छ । ‘बालविवाहले बालबालिका तथा किशोरकिशोरीलाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि वञ्चित हुन्छन् ।’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘विशेष गरी बालिका र महिलाको सन्र्दभमा बालविवाहले एउटा मात्रै अधिकारको उल्लङ्घन नगरी उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उल्लङ्घनको श्रृंखला सिर्जना गरी थप हिंसाको शिकारमा पर्नसक्ने अवस्था रहन्छ ।’

बालविवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्क नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरू देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखनजस्ता थप जोखिमहरूले बालबालिका र महिलाहरू थप प्रभावित हुन पुग्ने लगायत सन्दर्भ उल्लेख गरिएको छ ।

मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजालका अध्यक्ष आरती पाठक, नेपाल मानव अधिकार संगठनका अध्यक्ष शर्मिला श्रेष्ठ, कोशिशको पैरवी अधिकृत सुनिरा लामा, बाल कल्याण समाजका अध्यक्ष एवं बालिका दुलही होईननका संस्थापक सदस्य प्रकाश खतिवडा, हिमराईट्सका कार्यक्रम संयोजक कुमारी वाईवा, माईती नेपालका कार्यक्रम संयोजक माया लामा, शान्ति फाउण्डेसनका जिल्ला अधिकृत सिता गुरुङ, सानाहातहरुको स्टेशन म्यानेजर डिकम्बर रुपाचा, नारी संरक्षण केन्द्रको अध्यक्ष दिपा गुरुङ,सुनिता फाउण्डेशनको जिल्ला प्रतिनिधी सुमित्रा घलान, अस्मिता नेपालको थापा बहादुर दोङ र मुकेश कुशवाहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी तिर्थराज चिरुवाल ध्यानाकर्षणपत्र हस्तान्तरण गरेका हुन् ।

यस्तै, विद्यालयका बालबालिकाहरुले बिबाहको उमेर २० बर्ष कायम गराई पाउन भनी लेखिएको पत्र अस्मिता नेपालको थापा बहादुर दोगंले बाचन गर्दै प्रमुख जिल्ला अधिकारी चिलुवाललाई हस्तान्तरण गरिएको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चिलुवालले समयमै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार काठमाण्डौ समक्ष पठाईदिने बताए । संघसंस्थाहरुले उठान गरेको यस्तो बिषयको उनले प्रसंशा पनि गरे ।