हेटाैँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता पर्वहरूले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिबृद्धिमा सघाउ पुर्‍याउने बताएका छन् ।

प्रदेश प्रमुख देवकोटाले विहीबार शुभकामना सन्देश जारी गर्दै चाडपर्वहरू साँस्कृतिक सम्पन्नताका परिचायक भएको बताएका छन् ।
‘सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु’ देवकोटाले शुभकामना सन्देशमा भनेका छन्,‘हाम्रा चाडपर्वहरू सभ्य, सुखी र समृद्ध जीवनका आधारस्तम्भ हुन् ।’

सोनाम ल्होसारले तामाङ समुदायलगायत सम्पूर्ण नेपालीमा सकारात्मकता र उल्लास भित्र्याउन सफल रहोस् भन्ने कामना प्रमुख देवकोटाको छ ।

नेपालमा खासगरी मध्य भागको हिमाली, उच्च पहाडी र पहाडी भुभागमा बसोबास गर्ने संस्कृतिका धनी तामाङ समुदायले सोनाम ल्होसार पर्वलाई नाचगान, आफन्त भेटघाट र खानपिन गरेर रमाइलोका साथ मनाउने प्रचलन छ । यो पर्वमा कुलपूजा र प्रकृति पूजा गर्ने परम्परा छ । चेलीबेटी बोलाएर टीका लगाइदिने गरिन्छ । परम्परागत पहिरनले सजिएर एक ठाँउमा भेला भै तामाङ्सेलो नाच प्रस्तुत गरिन्छ ।

घर बस्तिहरू सफा राख्नुका साथै बुद्धका तस्बिर अङ्कित ध्वजापताका टाँगेर भगवान बुद्धप्रति श्रद्धाभाव प्रकट गरिन्छ । गुम्बा, चैत्यहरूमा पूजा गरिन्छ । बौद्ध परम्पराका रितिरिवाजलाई आधार मानी हासीखुसीका साथ ल्होसार मनाइन्छ ।