हेटाैँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलोपटक एइईको परीक्षा केन्द्र सञ्चालन भएको छ। बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि कैलाश– ९ मा अवस्थित कालिका माध्यमिक विद्यालयमा पहिलोपटक परीक्षा सञ्चालन गरिएको हो ।

कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ परीक्षामा १४९ जना र  ग्रेडवृद्धिका लागि ६७ जना गरी २१६ जन विद्यार्थीले परीक्षा दिएका छन्। केन्द्र रहेको कालिका माविका विद्यार्थीबाहेक कैलाशका अन्य विद्यालयका २१६ जना विद्यार्थीले एसइई परीक्षा दिएका हुन्।

बिहीबार परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्। परीक्षामा पाँच छात्रा र दुई छात्र गरी सातजना अनुपस्थित रहेको परीक्षाका केन्द्राध्यक्ष रामप्रसाद कालाखेतीले जानकारी दिए। परीक्षा केन्द्रको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा शाखा प्रमुख समीर जोशी, स्रोत शिक्षक ध्रुवराज विष्ठलगायतको टोलीले अनुगमन गरेका छन् ।

अनुगमनपछि पालिकाभित्र अध्ययनरत विद्यार्थी मनहरी, थाहा र हेटौँडा पुगेर परीक्षा दिने बाध्यतालाई अन्त्य गर्दै पालिकामै केन्द्र कायम गरिएको गाउँ शिक्षा समितिका संयोजकसमेत रहेका गाउँपालिका अध्यक्ष मुक्तानले बताए ।

भौगोलिक विकटताले केन्द्र आउन–जान असहज हुने भएकाले परीक्षा अवधिभर विद्यार्थीका लागि खाना र आवाससहित परीक्षा केन्द्रमा विद्यालय नर्स, स्वास्थ्यकर्मीहरूसमेत खटाइएको अध्यक्ष मुक्तानले बताए । विद्यार्थीको खाना र आवासका लागि आवश्यक खर्च सबै गाउँपालिकाले व्यहोर्ने उनको भनाइ छ । यस्तै, परीक्षा केन्द्र रहेको कालिका माविका नियमिततर्फ ४५ र ग्रेडवृद्धितर्फ १० जना विद्यार्थीले भने हेटौँडा– ४ स्थित भुटनदेवी माविबाट परीक्षा दिएको पालिकाले जनाएको छ ।

Visited 42 times, 1 visit(s) today