हेटाैँडा । बागमती प्रदेशसभाको वर्षे अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले शुभकामना दिएसँगै प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठकमा रुलिङ गर्दै कार्यसूचीमा समावेश गरिएका विषयहरू हटाइएको जानकारी गराएका दिए । उनले प्रदेशसभाको बैठकमा प्रदेश चलचित्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने कार्यसूची रहेको थियो भने संसदीय समितिबाट पारित भई तयार भएका ४ विधेयकका प्रतिवेदन पेस हुने कार्यसूची रहेको थियो ।

सत्तापक्ष र प्रतिपक्ष दलबीच लामो समयदेखि जारी मतभेट नटुंगिएका कारण प्रदेशसभाको बैठक स्थगित गरिएको हो । प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन सञ्चालनका लागि मुख्यमन्त्री बहादुरसिंह लामाले पटक पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।

आइतबार र बुधवार मात्र मुख्यमन्त्री लामाले पटक पटक सर्वदलीय बैठक बोलाएर बैठक सञ्चालनको वातावरण तयार पार्ने प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन सकेको छैन । सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलबीच विगतका सहमति कार्यान्वयनको विषयमा सहमति नभएको हो ।

चालू आर्थिक वर्षको बजेट कार्यक्रममा प्रतिपक्ष दलसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको र संसद् आह्वान गरेर बैठक सञ्चालन नगरी अधिवेशन अन्त्य गरेको भन्दै प्रतिपक्ष दल असन्तुष्ट बन्दै आएको छ । यस विषयमा प्रतिपक्ष दलहरूले सरकारको स्पष्ट धारणा माग गरेका छन् । सरकारको जवाफ सन्तोषजनक नभएसम्म बैठक चल्न नदिने प्रतिपक्ष दलको अडान छ ।

बागमती प्रदेशमा एमालेसँगको साझेदारीमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बनेसँगै प्रतिपक्षी दलहरू सरकारविरुद्धको मोर्चाबन्दीमा रहेका छन् । सदनको प्रमुख प्रतिपक्ष दलमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपा सरकारविरुद्ध लगातार आक्रामक रूपमा प्रस्तुत भइरहेको छ । सदनमै प्रतिपक्षका रूपमा रहेको नेमकिपा, हाम्रो नेपाली पार्टी विपक्षी गठबन्धनमा समेत सहभागी छैनन् ।

Visited 8 times, 1 visit(s) today