हेटाैँडा । धादिङको कृष्णभिरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौं जाने तथा आउने सवारीसाधनको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी आवागमनलाई व्यवस्थित बनाउन विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक कामबाहेक काठमाडौंतर्फ यात्रा नगर्न तथा अत्यावश्यक अवस्थाबाहेक निजी सवारीसाधन प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।
प्रशासनका अनुसार पृथ्वी राजमार्ग बन्द भएपछि त्रिभुवन राजपथ र वैकल्पिक सडकमा सवारीको अत्यधिक चाप बढेकाले दुर्घटनाको जोखिम न्यूनीकरण र सहज आवागमनका लागि सवारीसाधनलाई क्षमताअनुसार छुट्टाछुट्टै मार्ग प्रयोग गर्ने व्यवस्था गरिएको हो ।
प्रशासनले सम्पूर्ण मालवाहक सवारीसाधनलाई कान्तिलोकपथ हुँदै काठमाडौं आवतजावत गर्न अनुरोध गरेको छ भने १४ सिटभन्दा बढी क्षमताका यात्रुवाहक सवारीसाधनले त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ । यस्तै, १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी–देउराली मार्ग हुँदै काठमाडौं जाने–आउने व्यवस्था मिलाइएको छ।
सवारीको अत्यधिक चाप व्यवस्थापन गर्न समयसमेत निर्धारण गरिएको छ। प्रशासनले काठमाडौंबाट त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउने सबै सवारीसाधन राति १ बजाभित्र हेटौँडा पुगिसक्नुपर्ने तथा हेटौँडाबाट काठमाडौंतर्फ जाने सवारीसाधन राति १ बजेपछि मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।
यसैगरी कुनै पनि राजमार्गमा सवारीचालकले आफ्नो पालोअनुसार मात्रै सवारी सञ्चालन गर्न, अनावश्यक ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीले दिएको निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी, सवारीचालक र यात्रुलाई जारी गरिएको व्यवस्थाको पूर्ण पालना गरी आवागमनलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन सहयोग गर्न अपिल गरेको छ।












प्रतिक्रिया दिनुहोस्