हेटौँडा । बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुर १६ शय्यामा स्तरोन्नति भएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको आयुर्वेद चिकित्सालयको भवन हस्तान्तरण भएपछि १६ शय्याको आयुर्वेद चिकित्सालय सञ्चालनमा आउने भएको हो ।

प्रदेश सरकारको छ करोड ५१ लाख ८१ हजार लगानीमा हेटौँडा–२ मा निर्माण भएको भवन जेठ भित्रै हस्तान्तरणको प्रक्रियामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरका आयुर्वेद चिकित्सक डा.ललिता पाण्डेले जानकारी दिइन । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङ मार्फत युरेका पिण्डेश्वरी जेभीले निर्माणको ठेक्का पाएको थियो । २०७९ फागुन ३० गते सम्झौता भई २०८१ फागुन ३० गते निर्माण सम्पन्न हुने गरी काम भए पनि तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा चालु आवको असार मसान्त सम्मको म्याद थप गरिएको थियो ।

हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौँडा–२ वनस्खण्डीमा भाडाको घरमा सञ्चालन भइरहेको छ । कार्यालय सञ्चालनको लागि भाडा बापत मासिक एक लाख खर्च हुने गरेको छ । १७ जना जनशक्ति मार्फत सञ्चालन भइरहेको आयुर्वेदको १६ शय्यासहितको भवनमा सरेपछि पूर्ण रूपमा सेवा दिनका डाक्टरसहित थप ७ जना जनशक्तिको दरबन्दी आवश्यकता हुने कार्यालय प्रमुख पाण्डेको भनाई छ । आफ्नै भवनमा सरेपछि बिरामीलाई भर्ना गरेर उपचार गर्न, पञ्चकर्म सेवा र योग सेवा सञ्चालन गर्न सहज हुने उनले बताइन ।

हाल मासिक रूपमा दुई हजार बढी सेवाग्राहीहरूलाई आयुर्वेद मार्फत सेवा दिर्दै आइरहेको उनले बताइन । पछिल्लो समय आम जनमानसको आयुर्वेद चिकित्साप्रति विश्वास र आकर्षण बढेसँगै सेवाग्राहीको पनि बाक्लो उपस्थिति रहेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुर प्रमुख डा. पाण्डेका अनुसार विगतभन्दा दिन प्रतिदिन आयुर्वेदप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक औषधीले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । विशेष गरी ग्यास्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघाखोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको पाण्डेको भनाइ छ । केन्द्रमार्फत नेपाल सरकारले निर्धारण गरेको २३ थरीका औषधी निःशुल्क वितरण गरिएको छ ।